धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

७ दिन सम्म पनि उठेन बलात्कार पछि हत्या गरिएकी सम्झनाको शव

धनगढी

  बझाङमा बलात्कार पछि हत्या भएकी बालिका सम्झना कामीको शव घटनाको सात दिन बितेपनि परिवारले बुझ्न मानेको छैन । अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै परिवारले शव उठाउन मानेका छैनन ।

 प्रहरीले बलात्कार र हत्यामा संलग्न व्यक्तीलाई पक्ता लगाइ सकेको भने पनि अभियुक्तले अपराध स्विकार नगरेको र प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा पक्राउ परेका व्यक्ती राजेन्द्र बोहरा नै अपराधमा संलग्न छन भन्ने एकिन नभएकाले शब नबुझेको मृतक सम्झनाका बाजे गोरख बहादुर सार्कीले बताए।

 उनले भने–‘यस अघि पनि पटक पटकका घटनामा त्यो केटालाई कार्वाही भएको छैन, अझै उम्कीएर मेरी नातीनीले न्याय पाउने होईनन कि आशंका छ । प्रहरीले जारी गरेको प्रेस बिज्ञप्तीमा घटनामा संलग्नको आरोपमा राजेन्द्र बोहोरालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको उल्लेख छ ।

 प्रहरीको यस बिज्ञप्तीमा बिश्वस्त नभएर मृतक सम्झनाका आफन्तले शब बुझेका छैनन् । अर्कोतीर पक्राउ परेका राजेन्द्र बोहोराले अहिले सम्म पनि अपराध स्विकारेका छैनन् ।

पक्राउ परेका राजेन्द्रका बारेमा अर्को मुद्धा समेत दर्ता भई बिभिन्न अपराधिक घटना वाहिर आउँदा पनि अपराध स्विकारेका छैनन् सम्झनाका काका इश्वर विकले भने –‘प्रहरीले पनि अनुसन्धान कै क्रममा छौं । उसले अपराध स्विकारेको छैन । केस जता पनि मोडिन सक्छ भनेर दुइ धारे कुरा गरिरहेको छ, त्यसैले हामीलाई बिश्वास लागेको छैन् ।  सम्झनाका आफन्तहरु यही नै अपराधी हो भन्ने एकिन नहुदा सम्म  शव नबुझ्ने अडानमा रहेका छन् । 

  घटना भएको भोलिपल्ट नै (असोज ८ गते) पोष्टमार्टम गरिएको सम्झनाको शव जिल्ला अस्पताल बझाङको शव गृहमा राखिएको छ । शव राख्ने फ्रिज नभएका कारण शव कुहिएर गन्हाउन थालेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए ।

  जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले अभियुक्तले अपराध स्विकार नगरेको भए पनि प्रहरीले राजेन्द्र नै घटनामा संलग्न रहेको भन्ने यथेस्ट प्रमाण जुटाई सकेको बताउँछन् । उनले अपराधी उम्किनेमा शंका नगर्न आग्रह गरेका छन् ।

 घटनाको थप अनुसन्धानको लागि केन्द्रिय अनसन्धान व्युरो (सिविआई) बाट डिएसपी पञ्चकुमार बाखुको नेतृत्वमा टोली आएको छ । बाखु नेतृत्वको टोली सोमबार घटनास्थलको अनुसन्धानमा खटिएको डिएसपी खड्काले बताए । उनले संघिय प्रहरी कार्यालयबाट पोलिग्राफ मेसिन र पोलिग्राफ विज्ञ सहितको टोली पनि बझाङ आएको र आज बेलुका सम्म राजेन्द्रको पोलिग्राफ परिक्षण गरिने बताए ।

   छोरीको बलात्कार पछि हत्या भएको थाहा पाउने वित्तिकै भारतको व्यंङलोरबाट बझाङ आएका सम्झनाका बुवा विकास कामीलाई कोरोनाको संक्रमण पुष्टी भएको छ । सदरमुकाम चैनपुरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका उनमा जिल्ला अस्पताल बझाङमा गरिएको परिक्षणमा संक्रमण पुष्टी भएको हो ।