धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

लकडाउन हुने भन्दै व्यवसायी चिन्तित, ‘बन्द गरे प्रतिकार गछौं: कुँवर

लकडाउन हुने भन्दै व्यवसायी चिन्तित, ‘बन्द गरे प्रतिकार गछौं: कुँवर

धनगढी

 हिन्दुहरुको प्रमुख चाड दशै नजिकिदै गर्दा विगतमा कैलालीको धनगढी बजार सुदूरपश्चिममै सवै भन्दा बढी व्यवस्त हुने बजार हो ।

 अन्य बर्ष यतिवेला काठमाण्डौंबाट धनगढी सामाग्री आउँदा धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा दशै लक्षित सामाग्री ढुवानी हुने एक प्रकारको चक्र नै सुरु हुने गर्दथ्यो । जसका कारण धनगढी बजारमा मानिसको थामि नसक्नु भिड लाग्ने गर्दथ्यो । तर यस बर्ष भने परिस्थित फरक भएको छ ।

 दशै सुरु हुन १५ दिन मात्रै बाँकी रहँदा धनगढीका व्यवसायी यस बर्ष भने अन्यौलमा छन् । देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा पुनः लकडाउन हुन्छकी भन्ने आशंकाले व्यवसायी दशैका लागि सामाग्री खरिद गर्ने की नगर्ने भन्ने दुविधामा छन् ।

 लकडाउनकै विच तिजमा धेरै व्यवसायीले सामाग्री खरिद गर्दा कोरोवार भएन । जसका कारण तिज लक्षित सामाग्री गोदाममा थन्काउनु परेको व्यवसायीको तितो अनुभव छ । दशैमा पनि तिज जस्तै हालत भए खरिद गरिएको सामाग्री चिसो याममा नविक्ने र त्यसले ठुलो व्यापार घाटा हुने भन्दै कैलालीका व्यवसायी दशै लक्षित सामाग्री खरिद गर्ने वा नगर्ने भन्ने दुविधाले छटपटाउन थालेका व्यवसायी जगदिश जोशीले  बताए ।

 ‘हाम्रो व्यापार मुख्य गरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुन्छ जोशीले भने–‘तर अहिले सम्म पहाडी क्षेत्रका व्यवसायी तराई झरेका छैनन्, यस्तोमा कसरी हामीले काठमाण्डौंबाट सामाग्री मगाउने ।

 दशैका लागि ल्याइएको सामाग्री सोही समयमा बिक्रि नभए ती सामाग्री अर्को बर्ष सम्म गोदाममा थन्काउनु पर्ने र त्यसले लगानी  डुब्न सक्ने उनले बताए । 

  ‘असोज १ गते देखी बजार खुलेपनि ग्राहक अझै आएका छैनन् धनगढी बसपार्कका व्यवसायी राजेन्द्र रम्तेलले भने–‘बजारमा फेरी लकडाउन हुन्छ भन्ने हल्ला छ, यस्तोमा नयाँ सामान थप्ने की नथप्ने भन्ने दुविधा बढेको छ ।

  केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकोे अभिव्यक्तिका कारण कैलालीका व्यवसायी थप ससंकित भएका देखिन्छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले केही दिन अघिको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा देशमा २५ हजार बढी सक्रिय संक्रमित हुँदा लकडाउन गर्न सरकारलाई सुझाव दिएका थिए ।

 उनको सो अभिव्यक्ति पछि व्यवसायी थप ससंकित बनेका धनगढी होलसेल व्यवसायी संघ धनगढीका अध्यक्ष तिलक खतिवडा बताउँछन् ।

 तिजमा सामान खरिद गरेका धेरै व्यवसायीले व्यापार घाटा खाए उनले भने–‘दशैमा पनि फेरी सरकारले लकडाउन गर्छकी भन्ने डर र आसंङ्का व्यवसायीमा छ, त्यसैले सामान खरिद गर्न उनिहरु अलमलमा परेका छन् ।

 उनले अव बजार बन्द हुदैन, ढुक्क भएर व्यापार गर्न हरेक दिन व्यवसायीलाई सम्झाउने गरेको बताए । उनले भने–‘हामीले जति सम्झाए पनि व्यवसायी हाम्रो कुरामा पत्याउँदैनन्, सरकारले कति वेला के गर्छ भन्ने आशंकाले पिरोलेको छ ।

 कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने सरकारले अव पनि लकडाउन गर्ने बारेमा सोच्यो भने त्यसको प्रतिकार गर्ने भन्दै ढुक्क भएर व्यवसायीलाई काम गर्न आग्रह गरे ।

 सरकारले अव लकडाउनको विकल्प खोज्नै पर्छ अध्यक्ष कुँवरले भने–‘अव पनि सरकारले लकडाउन गरिरहे हामी त्यसलाई मान्दैनौं, लकडाउनका विरुद्ध जान बाध्य हुनेछौं ।

 कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले तत्काल लकडाउनका बारेमा कुनै निर्णय नभएको बताए  ।

 हामीले कैलालीका तत्काल लकडाउन गर्ने कुनै योजना बनाएका छैनौं प्रमुख जिल्ला अधिकारी बोहराले भने–‘संघबाट त्यसतो निर्णय भएर आए सोच्नेछौं ।