धनगढी पोष्ट
बिहिबार, १५ असोज २०७७ मा प्रकाशित
धनगढी
बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कञ्चरपुरको बेलौरी नगरपालिका स्थित बेलौरी बजारका दुई बैंकका शाखा बन्द भएका छन् । बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा आजदेखि एक साताका लागि बन्द भएका हुन् ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएपछि सो बैंकसँगै रहेको राष्ट्रिय बाणिज्य बैंक बन्द गरिएको हो ।
कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा रहेका अन्य कर्मचारीको पिसिआर जाँच गरी नतिजा नआउँदा सम्म बैंकका शाखाको कामकाज बन्द गरिएको नगरपालिकाको वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिए । उनका अनुसार कोरोनाको संक्रमण पुष्टि भएका कर्मचारीको अवस्था सामान्य छ ।
राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखाका प्रवन्धक महेशराज भट्टले सूचना जारी गर्दै बैंकमा कार्यरत कर्मचारीको पिसिआर चेकजाँच गरी नतिजा नेगेटिभ नआउँदासम्मका लागि लागि बैंकको शाखा बन्द हुने बताएका छन् । सेवाग्राहीका लागि एटिएम सेवा भने खुला रहने उल्लेख गरिएको छ ।