धनगढी पोष्ट
बिहिबार, १२ भदौ २०८३ मा प्रकाशित
रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत एवं दीर्घकालीन पुनर्स्थापनाका लागि कैलालीको लम्कीचुहास्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रु. ७ लाख ५१ हजार (सात लाख एकाउन्न हजार) आर्थिक सहयोग गरेको छ।
संस्थाका सञ्चालक, कर्मचारीहरू तथा संस्थाको तर्फबाट संकलित उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा चेक मार्फत जम्मा गरिएको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाह र महाप्रबन्धक डम्बर बहादुर शाहद्वारा जारी अपिल नोट मार्फत जानकारी गराइएको छ ।
उक्त अपिलमा मिति २०८३ भदौ १० गते आएको विनाशकारी विपत्तिमा ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, विपद्मा बेपत्ता भएका आफ्ना प्रियजनको खोजी तथा खबरको प्रतीक्षामा रहेका परिवारजनको पीडा, चिन्ता र दुःखप्रति किसान सहकारी परिवारले गहिरो ऐक्यबद्धता प्रकट गरेको छ ।
विषम राष्ट्रिय परिस्थिति र संकटको यस घडीमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुर्याउन संस्थाले सबैमा आह्वान समेत गरेको छ । अपिल नोट मार्फत आफ्नो क्षमता र इच्छानुसार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा आर्थिक सहयोग उपलब्ध गराई मानवीय सेवामा हातेमालो गर्न सम्पूर्णमा हार्दिक अनुरोध गरिएको छ ।