धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सुदूरपश्चिमका नौ वटा क्याम्पसलाई नमूना स्तर उन्नतीका लागि अनुदान

सुदूरपश्चिमका नौ वटा क्याम्पसलाई  नमूना स्तर उन्नतीका लागि अनुदान

धनगढी

 सुदूरपश्चिमका ९ क्याम्पसले प्रदेश सरकारबाट स्तर उन्नतीका लागि २०२० लाख रकम प्राप्त गर्ने भएका छन् ।

 सामाजिक विकास मन्त्रालय उच्च शिक्षा शाखाले निर्धारण गरेको मापदण्ड अनुसार अंक प्राप्त गर्ने पहाडी जिल्लाका ७ क्याम्पस र कैलाली, कञ्चनपुरबाट छनौटमा परेका क्याम्पस मध्य तेश्रो स्थानमा अंक ल्याउने २ गरी ९ क्वाम्पसलाई स्तर उन्नतीका लागि अनुदान दिने निर्णय गरिएको उच्च शिक्षा शाखा प्रमुख जयदेव महराले बताए ।

 उनका अनुसार कैलाली र कञ्चनपुरका ४ वटा क्याम्पसको मापदण्ड उच्च हुँदा ती क्वाम्पसलाई नमूना क्याम्पस घोषणा गर्ने तयारी गरिएको छ ।

 नमूना छनौटमा पर्ने क्याम्पसमा कैलालीको कैलाली बहुमुखि क्याम्पस, टिकापुर बहुमुखी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पस छन् भने कञ्चनपुरबाट कञ्चन विद्या मन्दिर सामुदायिक कलेज कञ्चनपुर र शिद्धनाथ क्याम्पस परेका छन् । चार वटै क्याम्पसले १ सय ३८ भन्दा बढी अंक प्राप्त गरेका छन् ।

 महराका अनुसार कैलाली बहुमुखी क्याम्पसले १ सय ६० अंक, ऐश्वर्यले १ सय ५९ अंक र टिकापुर बहुमुखी क्याम्पसले १ सय ५५ अंक ल्याएका थिए । उच्च अंक प्राप्त गर्ने यी तीन वटै क्वाम्पसलाई उच्च शिक्षा शाखाले नमूना क्याम्पस घोषणा गर्न सिफारिस गरेको शाखा प्रमुख महराले बताए ।

 उनका अनुसार कैलालीका तीन क्याम्पस पछि बढी अंक घोडाघोडी बहुमुखी क्याम्पसले प्राप्त गरेको छ ।

 घोडाघोडीको प्राप्ताङ्क राम्रो भएपनि त्यो भन्दा उच्च अंक अन्य क्याम्पसले प्राप्त गरेका कारण घोडाघोडीलाई कम्जोर पक्ष सुधारका लागि भन्दै नमूना स्तर उन्नतीमा राखिएको छ ।

 यसै गरी कञ्चनपुरमा कञ्चन विद्या मन्दिरले १ सय ४७ र शिद्धनाथ विज्ञान क्याम्पसले १ सय ३८ अंक ल्याएका छन् । तर शिद्धनाथ क्याम्पस सुदूरपश्चिमाञ्चलको आंगिक क्याम्पस भएका कारण समुह चरणबाट हटाइएको छ  भने कञ्चन विद्या मन्दिरलाई नमूना क्याम्पस घोषणाका लागि सिफारिष गर्दा तेश्रो स्थानमा अंक ल्याउने महाकाली बहुमुखी क्याम्पस वेलौरीलाई नमूना स्तर उन्नती गरी कम्जोर पक्ष सुधारका लागि अनुदान उपलब्ध गराउने निर्णय गरिएको शाखा प्रमुख महराले बताए ।

 सामाजिक विकास मन्त्रालयले छनौट गरेका अन्य क्याम्पस हरुमा दार्चुला बहुमुखी क्याम्पस दार्चुला, जगन्नाथ बहुमुखी क्याम्पस बैतडी, त्रिवेणि बहुमुखि क्याम्पस डडेल्धुरा, अछाम बहुमुखी क्याम्पस अछाम, बाजुरा बहुमुखी क्याम्पस बाजुरा, सुनकुडा बहुमुखी क्याम्पस बझाङ र केदार ज्योति पुञ्ज बहुमुखी क्याम्पस विपिनगर डोटी रहेका छन् ।

यस्तो छ मापदण्ड

 सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत उच्च शिक्षा शाखाले आर्थिक बर्ष २०७६÷०७७ विद्यालयको स्व मुल्याङ्कनका लागि ५८ सूचक निर्धारण गरेर फारम निर्माण गरेको थियो ।

 फारमको पूर्णाङ्क १ सय ८६ राखिएको थियो । स्व मुल्याङ्कन कार्यक्रममा प्रदेशभरका ४३ क्याम्पसले सहभागिता जनाएका थिए ।

 क्याम्पसहरुले आफ्नो विद्यालयको स्व मुल्याङ्कन गरी पठाएका फारमका आधारमा उच्च शिक्षा शाखाले उत्कृष्ठ १४ क्याम्पसलाई छनौटमा राखेको थियो ।

 गत आर्थिक बर्षमा छनौट भएका मध्य नमूनामा परेका क्याम्पसलाई प्रति क्याम्पस २५ लाख र नमूना स्तर उन्नतीमा परेका क्याम्पसलाई २० लाखका दरले उपलब्ध गराउने निर्णय गरेको थियो । तर चैत देखी सुदूरपश्चिममा कोरोना संक्रमण फैलिएपछि क्याम्पसलाई उपलब्ध गराउने भनिएको रकम कोरोना कोषमा राखिएको यियो ।

 गत आर्थिक बर्षमा क्याम्पसलाई रकम हस्तान्तरण गर्न नसकेपछि सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षमा नमूना स्तर उन्नतीको छनौटमा परेका क्याम्पसलाई २०२० लाख उपलब्ध गराईने भएको छ ।

 उपलब्ध २० लाख क्याम्पसको स्तरउन्नतीमा खर्च गर्नु पर्नेछ । तर क्याम्पसले प्राप्त गरेको रकमबाट स्तरउन्नती नगर्ने क्याम्पसको अनुदान भने कटौती गरिने उच्च शिक्षा शाखा प्रमुख जयदेव महराले बताए ।

नमूना विद्यालयका लागि कार्यविधिको ड्राफ्ट तयार

सामाजिक विकास मन्त्रालयले नमूना तथा नमूना स्तरउन्नतीका लागि छनौट भएका क्याम्पसको नियमन तथा व्यवस्थापनका लागि निर्माण गर्न थालेको कार्याविधीको ड्राफ्ट तयार पारेको  छ ।

 उच्च शिक्षा महाशाखा प्रमुख गोविन्द पोख्रेलको संयोजकत्वमा गठित पाँच सदस्यिय कार्यदलले निर्माण गरेको कार्यविधिको ड्राफ्ट कानून मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइने छ ।

 मन्त्रालयकाे शैद्धान्तिक स्वीकृति भएसंगै कार्यविविधि मन्त्रि परिषदको कार्यालयबाट स्वीकृत हुनेछ ।