धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिम प्रदेशमा दशैँतिहारमा बिशेष सुरक्षा योजना

धनगढी

  सुदूरपश्चिम प्रदेशमा दशैँतिहार लगायत चाडपर्वलाई लक्षित गरि विशेष सुरक्षा योजना लागु गरिएको छ । चाडपर्बमा हुन सक्ने सम्भावित घटना, दुर्घटना तथा अपराधिक गतिबिधि नियन्त्रण गर्न बिशेष सुरक्षा योजना लागु गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

     प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले ९ वटै जिल्लामा एकिकृत सुरक्षा योजना लागु गरिएको जानकारी दिए । उनले प्रदेश प्रहरी कार्यालयले बनाएको योजना अनुसार नौ वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको बताए ।

   बिशेष सुरक्षा योजना कार्यान्वयन गर्नका लागि  प्रदेशभर बिभिन्न तहका चार हजार एक सय २१ जना प्रहरी परिचालन गरिने प्रदेश प्रहरी प्रमुख सुवेदीले जानकारी दिए । ९ वटै जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारी रहने गरी दशैँतिहार एकिकृत सुरक्षा योजना बनाएका छौँ प्रहरी नायब महानिरिक्षक सुवेदीले भने, –‘प्रदेशका विभिन्न स्थानमा फरक फरक तरिकाका गस्ती, बढाएका छौँ, सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ ।

  उनका अनुसार सीमानाकामा चेक प्वाईन्ट डिउटी समेत खटाईएको छ । यस्तै दशैँतिहारमा लामो समय सम्म विदा हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको छ । सवारी साधनको विशेष तथा सरप्राईज चेकजाँचका लागि समेत ट्राफिक प्रहरीको छुट्टै टोली खटाईएको सुबेदीले बताए ।