धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

चाडपर्वमा हुने अपराध रोक्न प्रहरीको बिशेष टोली

धनगढी

  सुदूरपश्चिममा चाडपर्वका बेला हुने विकृती तथा अपराधिक गतिविधी नियन्त्रण गर्न बिशेष टोली परिचालन गरिने प्रहरीले जनाएको छ ।

  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहका अनुसार चाडपर्बलाई मध्यनजर गरी बनाईएको विशेष सुरक्षा योजना अन्तरगत अपराध नियन्त्रणका लागि विशेष टोलीहरु परिचालन गरिने  छ ।

 चाडपर्वमा हुने सामाजिक विकृती तथा जघन्य अपराध न्यूनीकरणका लागि प्रदेशभर ७८ जना सादा पोशाकका प्रहरी परिचालन हुने उनले बताए । यसैगरी  बैँक तथा वित्तिय संस्था, सुनचाँदीको कारोबार हुने स्थानको सुरक्षाका लागि एक सय ३३ जना प्रहरी खटाईएको उनको भनाई छ ।

  यात्रुलाई लक्षित गर्दै कैलाली सहित ९ वटै जिल्लाका ४० स्थानमा हेल्थ डेस्क स्थापना, उपभोक्ताको हक हितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा बजार अनुगमनलाई प्रभावकारी बनाईने रणनीति समेत अवलम्बन गरिएको प्रदेश प्रहरी प्रबक्ता सिंहले जानकारी दिए ।

 विशेष सुरक्षा योजना अन्तरगत शान्ति, सुरक्षा कायम गर्न प्रदेशभर पाँच हजार ५० जना प्रहरी परिचालन गरिने प्रहरी वरिष्ठ उपरिक्षक सिहले जानकारी दिए ।