धनगढी पोष्ट
सोमबार, २६ असोज २०७७ मा प्रकाशित
धनगढी
धनगढी उपमहानगरपालिका स्थित सीमा प्रहरी चौकी बहुलियामा कार्यरत सई सहितका १० प्रहरीलाई जिल्ला तानिएको छ ।
त्यस क्षेत्रमा भएका बिभिन्न विवाद र पेशागत आचरण अनुसार काम नगरेको भन्दै चौकी इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल कार्की सहितका १० जना प्रहरीलाई जिल्ला तानेर थप अनुसन्धान अघि बढाईएको छ ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानेर छानविन भईरहेको बताए । उनले बिभिन्न विवादमा मुछिएको आरोप लागेकाले छानविन भईरहेको बताए । प्रहरी चौकीको हिरासतमा रहेका स्थानीय अमरबहादुर चन्दको मृत्यु प्रकरणका कारण सबै प्रहरीलाई जिल्ला तानेर थप अनुसन्धान भईरहेको बताईएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जिल्ला झिकाईएका प्रहरीमाथि छानविन भईरहेकाले दोषी देखिए कारवाही गरिने बताए । गत २७ साउनमा मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरी चौकी बहुलियाले नियन्त्रणमा लिएका फूलबारीका अमरबहादुर चन्द घाँटी रेटेको अवस्थामा शौचालयमा मृत भेटिएका थिए । प्रहरीले छानविनका लागि एसपीको नेतृत्वमा टोली गठन गरेको थियो ।