धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

कैलालीमा ७ जना राना समुदायका युवाले गरे दुई प्रहरीको हत्या

कैलालीमा ७ जना राना समुदायका युवाले गरे दुई प्रहरीको हत्या

धनगढी

  कैलालीको धनगढीम उपमहानगरपालिका १२ जुगेडा अस्थायी पोष्टमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या ७ जना राना समुदायका युवाले गरेको खुलेको   छ ।

 गत शनिवार राती हत्या गरिएका दुई जना प्रहरीको धनगढी उपमहानगरपालिकाका  ७ जना थारु समुदायका युवा मिलेर गरेको प्रहरीले सार्बजनिक गरेको छ ।

  जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको हो ।

 पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।

 उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।  गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो ।

प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर १० को नेपालभारत सीमा स्थित मोहना नदीकाने किनारामा भेटिएको थियो भने घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।

उनीहरु सवार  बा.५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक दिलिपसिंह देउवाले घटनाको थप अनुसन्धान भईरहेकाने बताए । उनले भने–‘घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा यी ७ जनाको संलग्नता देखिएको छ, थप अनुसन्धान जारी छ ।’  पक्राउ परेका सातै जना बिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको प्रहरी प्रमुख देउवाले बताए । पक्राउ परेका सातै जना लामो समयदेखि सीमा क्षेत्रमा तस्करीमा संलग्न रहेको खुलेको उनको भनाई छ ।