धनगढी पोष्ट
बुधबार, ०५ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
जिल्ला प्रहरी कार्यालय कैलालीले गत शनिवार धनगढीमा भएको प्रहरी हत्या प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमानगरपालिका –१० का २० वर्षीय रोहित राना(ख) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
गत शनिवार राती सीमा नाकामा गस्तीका क्रममा हत्या गरिएका प्रहरी सहायक निरिक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको थियो ।
प्रहरीले मंगलबार धनगढी उप–महानगरपालिका १० का ७ जनालाई सार्बजनिक गरेको थियो । शनिबार साँझ गस्तीमा निस्किएका कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहर िसहायक निरिक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद मृत फेला परेका थिए ।
ईन्चार्ज विकको शब आईतबार बिहान फेला परेको थियो भने प्रहरी जवान साउदको शब मंगलबार बिहान फेला परेको थियो ।
अवैध समानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिने क्रममा तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुवैजनाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा मोहना नदीबाट तस्करले केराउ निकासी गर्न खोजेका थिए । सोही समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको मंगलबार पत्रकार सम्मेलन मार्फत कैलालीका प्रहरी प्रमुख दिलिपसिंह देउवाले बताएका थिए ।