धनगढी पोष्ट
मङ्गलबार, १८ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाअध्यक्ष २५ हजार धरौटीमा छुटेका छन । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा छुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जिल्ला अदालत कैलालीमा सोमबार भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जानकारी दिए । जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
यस्तै झुठो विवरण बनाएर नेपाली नागरिकता लिने भारतीय नागरिक र नक्कली दाजु कारागार चलान भएका छन । नक्कली विवरण बनाएर जिल्ला प्रशासन कार्यालय कैलालीबाट नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ । नेपाली नागरिकता लिने अन्सारीका नक्कली दाजु बनेका खुसीराम चौधरी अदालतले माग गरेको ५० हजार धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन ।