धनगढी पोष्ट
बिहिबार, २७ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
बैतडी प्रहरीले सीमा नाका बन्द हुँदा भारतबाट भित्र्याईएको करिव १३ लाख मुल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले जारी गरेको सीमा नाका बन्द पछि पनि विभिन्न माध्याम बाट हालसम्म अवैधरूपमा भित्रिएको सामान बरामद प्रहरीले बरामद गरिएको हो । सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युवको सहायतामा भन्सार छली गरी नेपाल भित्र्याईएको १३ लाखको सामान बरामद गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
उनले भने–‘सीमानाका बन्द रहेको अवस्थामा प्रहरीले सीमा क्षेत्रमा एम्बुस र नियमित गस्तीका क्रममा उक्त परिमाणमा भारतीय सामान बरामद गरेका हौँ, गएको चैतयता हालसम्म तस्कर गरिरहेका अवस्थामा विभिन्न समयमा गरेर सातपटक प्रहरीले सामान बरामद गरेको छ ।’
बरामद गरिएको सामग्रीमा बढीजसो भारतीय बिँडी, चप्पल, कपडा रहेका जनाइएको छ । प्रहरीले सामानका साथै नौ जना र एक गाडीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका व्यक्ति, जीप र बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय झुलाघाट र गड्डाचौकीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नाका बन्द रहेका बेला तस्करी अझैपनि हुनसक्ने भन्दै प्रहरीले सीमा क्षेत्रमा प्रहरीको गस्ती बढाएको छ । भारतबाट अझै पनि अवैध सामान भित्रिरहेको भन्ने सूचना प्राप्त भइरहेकाले सीमा क्षेत्रमा गस्ती थपेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
उनले भने–‘नाका बन्द रहेको बेला महाकालीमा ट्युवमार्फत बढीजसो सामान आउने गरेकाले उक्त क्षेत्रमा कडाइ गरेका छौँ ।’