धनगढी पोष्ट
मङ्गलबार, ०२ असार २०७७ मा प्रकाशित
धनगढी
लम्कीचुहा नगरपालिकाको क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कार गर्नेलार्ई कडा कारवाही गर्दै पिडितलाई न्याय दिलाउन अखिल नेपाल महिला संघ (अनेमसँघ) कैलालीले माग गरेको छ ।
क्वारेन्टिनमा बसेकी महिलामाथि अमानविय व्यवहार गर्ने दोषीलाई हदैसम्म सजायको माग गर्दै महिलाहरुको सुरक्षाप्रति गम्भीर बन्न पनि अखिल नेपाल महिला संघ (अनेम सँघ ) ले माग गरेको हो ।
‘घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ’ साविकको अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता सोडारी र साविकको अखिल नेपाल महिला संघ (क्रान्तिकारी कैलालीकी अध्यक्ष सरु चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गरी पिडितलाई न्यायको अनुभुति सहित तत्काल क्षतिपूर्तिको जोडदार माग गर्दछौं ।’
लम्कीचुहा नगरपालिका वार्ड नं. १ स्थित शहिद स्मृति माविको भवनमा क्वारेन्टिनमा बसेकी एक महिलाले क्वारेन्टिनमा स्वयमसेवकको रुपमा क्रियाशील तीन जनाले सामुहिक बलात्कार गरेको आरोप लगाएकी छिन् । उक्त आरोपपछि प्रहरीले आरोपित तीन जनालाई पक्राउ गरि अनुसन्धान शुरु गरेको छ ।