धनगढी पोष्ट
मङ्गलबार, ०९ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
बैतडीमा जीप दुर्घटना भारतबाट पेन्सन बुझेर आएका ५ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।
गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा भारतमा रहेका पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ । त्यहीबाट आईरहेको जीप दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० वर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले दुर्घटनामा परी ४ जना घाइते भएका बताए । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याइको छ ।
जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घटना हुने वित्तिकै फरार रहेका जीप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।