धनगढी पोष्ट
आइतबार, १४ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
सुन दिने आस्वासन दिएर बलात्कारको घटना मिलाउन खोज्ने बैतडीको एक गाउँपालिकाका वडा अध्यक्ष र अन्य ५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित ५ जना पक्राउ परेका हुन् ।
गत जेठ १८ गते गाउँमै बलात्कार हुँदा बिशोरीका आफन्तलाई १ तोला सुन दिने गरी कागज बनाएपछि घटना बाहिर आउन ढिलो भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।
उनका अनुसार पक्राउपरेका वडा अध्यक्ष सहित अन्य ५ जना नै बलात्कृत भएकी किशोरीका नातेदार हुन् । पक्राउ पर्नेमा वडा अध्यक्ष शेरसिंह साउँद सहित वडा नम्बर ३ कै राजेन्द्र धामी, नरेन्द्र धामी, गोपाल धामीला, मनोज सिंह धामी र अमर धामी रहेका छन् ।
प्रहरी प्रमुख अधिकारीका अनुसार बलात्कारको आरोपलागेका दीपकसिंह धामी भने फरार रहेका र उनको खोजि भएरहेको छ ।
जेठमै बलात्कार भएको भएपनि असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो । तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र १ तोला सुन दिने सहमति रहेको भएपनि आफन्तले सुन नपाएका कारण घटना बाहिर आएको हुन सक्ने प्रहरी प्रमुख अधिकारीले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।