धनगढी पोष्ट
बुधबार, ०३ असार २०७७ मा प्रकाशित
दार्चुला
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमाका नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाउन सशस्त्र प्रहरी तयार रहेको बताएका छन ।
दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवनको बुधबार उद्घाटन गर्दै आईजीपी खनालले सीमित स्रोत साधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।
खनालले अहिले देशभरी सशस्त्रको बोर्डर आउट स्थापना भइरहेको र जिल्लामा पनि सशस्त्र प्रहरीको थप पोष्ट स्थापना छिट्टै हुने बताए । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको आईजीपी खनालले बताए ।
व्यास गाउँपालिका १ छांगरुमा गत वैशाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपीको निरीक्षण गर्न दार्चुला पुगेका आइजीपी खनालले सोही अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गरेका हुन् ।