धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुरक्षित मातृत्व तथा प्रदेश जनस्वास्थ्य सेवा ऐन सम्वन्धमा कार्याशाला गोष्ठी

सुरक्षित मातृत्व तथा प्रदेश जनस्वास्थ्य सेवा ऐन सम्वन्धमा कार्याशाला गोष्ठी

धनगढी

  सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको सवालमा सुदूरपश्चिम प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् ।

 सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन (२०७५) र प्रदेश जनस्वास्थ्य सेवा ऐन (२०७६) को कार्यान्वयन सम्बन्धमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय कार्याशाला गोष्ठीमा मन्त्री सुवेदीले महिला प्रजनन सुधार र नवजात शिशुको स्वास्थ्यमा सुधारका लागि छुट्टै प्रसूति अस्पताल निर्माणका लागि प्रदेश सरकारले पहल चालेको बताए ।

  महिला प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि प्रजनन स्वास्थ्य ऐन र जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन,स्वास्थ्य नियमावली र निर्देशिका निर्माणमा समेत सहयोग पुगोस भन्ने उद्धेश्यले सरोकारवालाहरु विच विस्तृत रुपमा  संवाद गरिएको सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश कार्यक्रम संयोजक राजेन्द्र रैकाले बताए ।

 गोष्ठीमा बरिष्ठ अधिवक्ता प्रयागदत्त भट्टले सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै गोष्ठीमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता एंव स्वास्थ्य शाखा प्रमुख नरेन्द्र सिह कार्कीले सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य सेवा ऐन वारेमा आधारपत्र प्रस्तुत गरेका थिए ।

 कार्यक्रममा सुरक्षित मातृत्व संजाल महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष सुनिल श्रेष्ठले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको सवालमा संस्थागत प्रस्तुती राखेका थिए भने संस्थाका कार्यक्रम व्यवस्थापक लक्ष्मी खनालले सीमान्तकृत महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार प्रवर्धन परियोजना मार्फत हाल सम्म संचालित गतिविधी र उपल्ब्धीको सम्वन्धमा प्रस्तुती राखेका थिए ।

 कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका  सभापति कुन्ती जोशी, अर्थ विकास समितिका अध्यक्ष हर्कबहादुर कुँवर, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट,राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज जोशी, सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत दान वहादुर सुनार, ईन्सेकका प्रदेश प्रमुख खडकराज जोशी, सेती प्रादेशिक अस्पतालका बालरोग विशेषज्ञ डा.प्रदीप मिश्र, सेती प्रादेशिक अस्पताल प्रसुति वार्ड प्रमुख डा खगेन्द्र भट्ट, लगायतकाले मन्तव्य राखेका थिए ।