धनगढी पोष्ट
बिहिबार, २० फागुन २०७७ मा प्रकाशित
धनगढी
कैलालीको गोदावरी नगरपालिका–५ गेटामा मृत फेलापरेका ३६ बर्षे शिव चरण रानाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३७ बर्षिया महिलालाई सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृतक ३५ बर्षे शिवचरण राना र हत्याको योजना बनाएको अभियोगमा पक्राउ परेकी ३७ बर्षिया महिला जयन्ती चौधरी विच लामो समय देखी अवैध सम्बन्ध रहेको पाइएको छ । तर मृतक पुरुषले केही समय अघि देखी अन्य महिला संग पनि सम्बन्ध राख्न थालेपछि रिसिबि साँध्न महिलाले दुई जना पुरुषलाई पैसा दिएर शिवचरणको योजनाबद्ध हत्या गर्न लगाएको प्रारमिभक अनुसनधानले देखाएको छ ।
‘मृतक पुरुष र महिला विच लामो समय देखीनै अनैतिक सम्बन्ध रहोको पाइएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरिक्षक अनुप समशेर जबराले भने–‘पछिल्लो पटक मृतक पुरुषले अन्य महिला संग पनि सम्बन्ध बनाउन थालेपछि जयन्ती चौधरीले उनको हत्या गर्न लगाइएको देखिन्छ ।’
दुई महिना अघि अभियुक्त महिला आफैले शिवचरणको हत्या गर्ने प्रयास गरेपनि असफल भएपछि दुई जनालाई पैशा दिएर मार्न लगाएको प्रहरी प्रमुख जबराले बताए । उनका अनुसार हत्या गर्ने दुई जना भने अझै फरार रहेका छन् ।
यही फागनु १५ गते कैलालीको गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै शिवचरण मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको थियो ।