धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एक साता पछी सुदूरपश्चिम भित्रियो मनसुन

धनगढी

    एक साता अघि नेपाल प्रवेस गरेको मनसुन एक साता पछी मात्रै सुदूरपशिचम प्रदेशमा  प्रवेस गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिए पनि वर्षा भने पूर्वी र मध्य भागमा केन्द्रित छ ।

    नेपालमा यस बर्ष औषत भन्दा दुई दिन ढिलो गरी मनसुन भित्रिएको थियो । महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार यो गत वर्षभन्दा छिटो हो । सामान्यता नेपालमा १० जुनमा मनसुन प्रवेश हुने गर्दछ । गत वर्ष औसत समय भन्दा १० दिन ढिलो गरी २० जुनमा मनसुन सुरु भएको थियो ।

     यो वर्ष औसत समय आसपासमै मनसुन सुरु भई करिब एक साताभित्र देशैभर सक्रिय भएको छ । पूर्वका केही स्थानमा भारी वर्षासँगै पहिरो र बाढीको जोखिम समेत बढेको छ । छिटो मनसुन प्रवेश भएकाले कोरोनाबाट आक्रान्त बनेका किसानलाई भने राहत मिलेको छ । वर्षासँगै मुलुकका धेरैजसो भागमा किसान रोपाइँमा व्यस्त भएका छन् ।

विगतमा मनसुन प्रवेश भए पनि लामो समय निस्कृय हुँदा किसानले धान रोप्न नपाउने गरेको भएपनि यस बर्ष छिट्टै सक्रिय हुँदा किसानलाई भने निक्कै राहत भएको छ । मौसमविद प्रधानाङ्गले ६ दिनमै मनसुन सक्रिय हुनु राम्रो भएको बताए ।

     महाशाखाका अनुसार शुक्रबार (आज) दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    शनिबार पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा वर्षाको संभावना रहेको महाशाखाले उल्लेख गरेको छ ।