धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बाजुरामा गोदामको मौज्दात चामल सकियो

खाद्यमा चामल सकिएको दुई दिन भएको र अहिले बिक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गरे ।

बाजुरामा गोदामको मौज्दात चामल सकियो

रासस

बाजुरा । कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ ।

महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्री दर दैनिक रुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए । कम्पनीमा रहेको चार हजार ८०० क्विन्टल चामल बिक्री भइसकेको छ । निषेधाज्ञामा स्थानीयवासीले चामल बढी किनेर लिएकाले मौज्दात रहेको चामल समेत सकिएको प्रमुख ओझाले बताए ।

खाद्यमा चामल सकिएको दुई दिन भएको र अहिले बिक्री गर्न चामल नरहेको प्रमुख ओझाले स्वीकार गरे । जिल्ला कारगारमा रहेका कैदीलाई खाना खुवाउनका लागि चाहिने ५० क्विन्टल चामल मात्र रहेको र सर्वसाधारणलाई बिक्री गर्न मौज्दात चामल नभएको उनी बताउँछन् ।

सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ । साँफेमार्तडी सडकको अवस्था नाजुक भएकाले वर्षा आउन रोकिएपछि एक साताभित्र चामल मार्तडीमा आइपुग्ने ओझाले बताए ।

खाद्य संस्थानका लागि तीन हजार ५०० क्विन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगरबाट आउन लागेको भए पनि बाटोको समस्याका कारण रोकिएको छ । संस्थानले मोटो चामल प्रति किलो ४५ र जिरा मसिनो प्रति किलो रु ६६ मा बिक्री गर्दै आइरहेको थियो ।

कोल्टी र कवाडीमा चामल यथावत

जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको कोल्टी शाखा र बिक्री केन्द्र कवाडीमा भने चामलको मौज्दात यथावत  रहेको शाखाले जनाएको छ । कोल्टीमा खाद्य संस्थानमा हाल एक हजार १०० क्विन्टल चामल बिक्री नभएको शाखा प्रमुख नवीन आचार्यले बताए ।

निषेधाज्ञामा  चामल  अभाव नहुने आचार्यको भनाइ छ । अहिले एक हजार १०० क्विन्टल यथावत छ भने ९० क्विन्टल सुर्खेतबाट आइसकेकाले कोल्टीमा खाद्य अभाव नहुने प्रमुख आचार्यले बताए ।

यस्तै हिमाली गाउँपालिकाको कवाडीमा समेत चामल मौज्दात रहेको शाखा प्रमुख  आचार्यले बताए । कोल्टीबाट कवाडीका लागि एक हजार क्विन्टल पठाइसकेकाले केही मौज्दात रहेको आचार्य बताउँछन् ।

खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा चामलका लागि धाइरहेका छन् । खुलेआम कालोबजारी भन्दा पनि व्यापारीले अघोषित रुपमा चामल मात्र नभई दैनिक उपभोग्य सामानमा कालोबजारी गरिरहेको नागरिक समाजका अगुवा बताउँछन् ।

जिल्ला प्रशासन कार्यालयले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए । उनले कालोबजारी गरेको नभेटिएको उजूरी  नआएकोे भए पनि बजारमा  खाद्य सामग्रीको मूल्यवृद्धि भइरहेको मौखिक रुपमा जानकारी आउने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालयले बजारमा खाने तेलको मूल्य भन्दा बढी मल््य लिने पाँच व्यापारीलाई पक्राउ गरी कारबाही गरेको सहायक प्रजिअ भण्डारीले बताए ।