धनगढी पोष्ट
मङ्गलबार, ११ जेठ २०७८ मा प्रकाशित
धनगढी । नेकपा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले सरकारबाट फिर्ता नहुनेहरुलाई पार्टीले कारवाही गर्ने बताएका छन् ।
“पार्टीले निर्णय गरिसकेपछि मन्त्रीहरुले तुरुन्तै फिर्ता आउनु पर्छ ।” प्रदेश अध्यक्ष थापाले भने “यदि कोही फिर्ता आएनन् भने पार्टीको बिधान बमोजिक कारवाही हुन्छ ।”
पार्टीको निर्णयका बारेमा मन्त्रीहरुलाई आज (मंगलबार ) जानकारी अध्यक्ष थापाले बताए ।
नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय सोमबार गरेको थियो । बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारबाट मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिने निर्णय समेत गरेको थियो ।
सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । माओवादीका नेता त्रिलोचन भट्टको नेतृत्वमा रहेको सुदुरपश्चिम सरकारमा अहिले नेकपा एमालेका तीन मन्त्री छन् । नेकपा माओवादीका मुख्यमन्त्री सहित २ मन्त्री छन् ।
सुदुरपश्चिम प्रदेश सभामा नेकपा एमालेक २५ प्रदेश सभा सदस्य र नेकपा माओवादीका १३ प्रदेश सभा सदस्य छन् ।
२०७४ मा निर्वाचन अघि नेकपा एमाले र नेकपा माओवादी मिलेर चुनाव लडेका थिए । त्यसपछि सुदुरपश्चिम प्रदेशमा एमालेको समर्थनमा माओवादीको नेतृत्वमा सरकार बनेको थियो । दुवै पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनाएका थिए । तर अहिले एमाले र माओवादी पार्टी अलग अलग भैसकेपछि एमालेले समर्थन फिर्ता लिएको हो ।
अध्यक्ष थापाले दुई पार्टी अलग भैसकेकाले प्रदेशमा थोरै संख्या भएको माओवादीलाई सरकारको समर्थन गरिरहन नसकिएको बताए । “प्रदेश सभामा हाम्रो (एमालेको) २५ सदस्य छन्, माओवादीको १३ मात्र छन् ।” थापाले भने “१३ मात्र भएकोलाई कसरी सरकार चलाउन दिन सकिन्छ ?”
थापाले अब सुदुरपश्चिम प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने बताए ।