धनगढी पोष्ट
आइतबार, ०७ असार २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा झण्डै ५७ करोड भन्दा बढी बजेट खर्च गरेको जनाएको छ ।
प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले सरकारले खडा गरेको कोरोनाको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोड ४८ लाख र प्रदेश मन्त्रीपरिषदको निर्णयमा थप १५ करोड गरि करिब ५७ करोड खर्च गरेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना भाईरसको रोकथाम, जोखिम न्यूनिकरण, क्वारेन्टिन तथा आपतकालिन व्यवस्थापननका लागि दुई करोड ९९ लाख विनियोजन गरेको थियो । उप–महानगरपालिकालाई पाँच, नगरपालिकालाई चार तथा गाउँपालिकाहरुलाई तीन लाखका दरले अनुदान दिईएको थियो ।
आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले भने–‘तीन चरणमा स्थानीय तहलाई रकम दिएका छैं।’ प्रदेशको मन्त्रीपरिषद बैठकले चैत २७ गते मात्र कोरोना भाइरस रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको थियो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि खडा गरिएको कोषमा सरकारको ४० करोड समेत गरी ४२ करोड ५७ लाख रकम जम्मा भएको थियो । प्रदेश सरकार कोरोना रोकथाम तथा नियन्त्रणका लागि संबेदनशील भएर लागिरहेको पनि मन्त्री शाहको भनाई छ ।