धनगढी पोष्ट
बिहिबार, २४ भदौ २०७८ मा प्रकाशित
धनगढी । पेट्रोलियम पदार्थको अन्वेषण कालागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको छ । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदन अनुसार दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको जनाएकोछ ।
चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डाक्टर सुधीर रजौरेले बताए उनले अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे गरिने बताए । कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन ।
अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनले बताए । उनले दैलेखका सम्भावित स्थानमा अनुसन्धान गर्दा ‘चारवटा क्षेत्रमा सकारात्मक नतिजा आएको बताउँदै चिनियाँ टोली आउनासाथ धमाधम काम सुरू हुने बताए । दुबै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम सुरू भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ ।
दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।
करिब १० वर्षअघि पनि दैलेखमा बलेको ग्यासकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरू गरेका थिए ।
अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार ५ सय मिटर गहिरो ड्रिलिङ गरिने भएको छ । विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्यास वा पेट्रोल छ भनेर थाहा हुनेछ । यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ । अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्यास वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो ।
नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो । सोहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन् ।