सुर्खेतमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन बिग्रियो

सुर्खेत

       कोरोना भाइरस (कोभिड१९)को परीक्षणका लागि कर्णाली प्रदेश सरकारले प्रयोगमा ल्याएको आरटी पीसीआर मेसिन बिग्रिएको छ ।

        प्रदेश अस्पताल सुर्खेत प्रयोग गर्दै आएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यसअघि यो मेसिनबाट दैनिक करिब चार सय स्वाबको परीक्षण गर्दै आएको थियो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार बिग्रिएको मेसिन मर्मतका लागि आइतबारबाट पहल थालिने भएको छ ।

  …शुक्रबार नै मेसिन बिग्रिएको हो सफ्टवेरमा समस्या भयो कि भनेर प्रयास गरौँ तर हार्डवेयरमै समस्या देखियो, डा. तिवारीले भने–‘मेसिन मर्मतका लागि अस्पतालले आइतबार सप्लायर कम्पनीलाई पत्र काट्ने कुरा भएको छ । हार्डवेरमा समस्या देखिएका कारण मर्मतमा समय लाग्ने उनको भनाइ   छ ।

 मेसिन बिग्रिएपछि अत्यावश्यक व्यक्तिको अर्काे पोर्टेबल पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ । प्रयोगशालामा रहेका केही स्वाबहरु भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र छिमेकी जिल्लामा पठाउने तयारी गरिएको छ ।