धनगढी पोष्ट
सोमबार, १५ असार २०७७ मा प्रकाशित
धनगढी
लकडाउनका कारण आफुहरु मारमा परेको भन्दै नेपाली बजारमा सामान पठाउन र उधारो उठाउन नेपाल जाने वातावरण बनाइ दिन सीमावती भारतीय बजार बनबासाका व्यापारीहरुले भारतको दिल्ली स्थित नेपाली दुताबासँग आग्रह गरेका छन् ।
बनबासाका व्यापारीहरुको लाखौ रुपैया नेपालका व्यापारीहरुसँग लिन बाँकी रहेकोले नेपालमा रकम उठाउन जाने बाताबरण बनाइदिन प्रान्तीय उद्योग ब्यापार प्रतिनिधि मण्डल बनबासा चम्पावतका उपाध्यक्ष सँजय अग्रवालद्धारा हस्ताक्षरित नेपाली दुतावासमा बुझाईएको पत्रमा आग्रह गरिएको छ । बनबसाका व्यापारीहरुलाई हल्द्धानी, बरेलीका व्यापारीहरुले उधारो रकम तुरुन्त तिर्न दवाव दिइरहेको निवेदनमा उल्लेख छ ।
‘बिनम्र निवेदन छ कि बनबासाका ती ब्यापारी जसको नेपालमा भुक्तानी लिन बाँकी छ, उनीहरुलाई नेपाल जाने व्यवस्था गरियोस’ निवेदनमा भनिएको छ ‘जसले गर्दा ब्यवसायीहरु रकम उठाएर आफुले तिर्नु पर्ने पैसा तिर्न सकुन ।’
कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरको सीमावर्ती भारतीय बजार बनबासा नेपाली ग्राहकहरुमा निर्भर रहेको छ । बनबासा पश्चिम नेपालको भारत आवतजावत गर्ने मुख्य नाका समेत हो ।
केही दिन अघि महेन्द्रनगर स्थित व्यवसायीहलाई भेटेर बनबासाका ब्यवसायीहरुले नेपालमा निरन्तर आउने वातावरण बनाउन प्रशासनसँग पहल गरिदिन आग्रह गरेका थिए ।
कोरोनाका कारण नेपाल भारत सीमा पुर्ण रुपमा बन्द गरिएपछि मार्च २१ देखि बनबासाको व्यापार पुर्ण रुपमा बन्द भएको निवेदनमा उल्लेख छ । निवेदनमा नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध भएको स्मरण गराउँदै बनबासाको ९५ प्रतिशत कारोवार नेपालमा निर्भर रहेको पनि जानकारी गराइएको छ ।
नेपालमा जाने र उधारो रकम उठाउन नपाएको अवस्थामा व्यापारीहरु सडकमा उत्रिन बाध्य हुने चेतावनी पनि निवेदनमा दिइएको छ ।