धनगढी पोष्ट
मङ्गलबार, २१ मङि्सर २०७८ मा प्रकाशित
धनगढी । सरकारले विवादित क्षेत्र कालापानी र लिपुलेकको वैकल्पिक विधिबाट जगगणना गर्ने भएको छ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसकेपछि वैकल्पिक विधि प्रयोग गरिने भएको हो ।
सरकारले वैकल्पिक माध्यामका रुपमा स्याटलाइटको सहारा लग्ने छ । सो माध्यामबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना बनाएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देश डाक्टर हेमराज रेग्मीले बताए । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी तयारी गरिरहेको छ ।
विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास रहेको छ भने करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा ७÷८ सय जनसङ्ख्या रहेको अनुमान गरिएको छ । कालापानी र लिपुलेक क्षेत्रमा २०१८ सालमा यता जनगणना गरिएको छैन ।