धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

दोहोरो नागरिकता भएका नागरिक माथी छानविन गर्ने नेपाल–भारत सुरक्षा अधिकारी विच सहमति

दोहोरो नागरिकता भएका नागरिक माथी छानविन गर्ने नेपाल–भारत सुरक्षा अधिकारी विच सहमति

धनगढी । दोहोरो नागरिकता लिएर सेवा दिने नागरिक मार्थी निगरानी बढाउन नेपालभारतका सुरक्षा अधिकारी सहमत भएका छन् । जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा बिहीबार भएको नेपाल, भारत संयुक्त सुरक्षा बैठकमा सात वटा एजेन्डामा छलफल भएको छ ।

छलफल पछि तेस्रो मुलुकका नागरिक भित्रिए÷नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसै गरी सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपालभारतसँग जोडिएका सबै झोलुङ्गे पुलबाट आवतजावत गर्ने नागरिकलाई कोरोना जाँच तथा कोरोना लागे÷नलागेको सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ । नेपालभारत जोड्ने निर्माणाधीन बाकुस्थित झोलुङ्गे पुल निर्माणलाई चाँडो सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा बैठकमा छलफल भएको छ । सीमामा हुने चोरी, तस्करी, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपसार, शङ्कास्पद सूचना आदानप्रदान गर्नेबारे दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ ।

सीमा क्षेत्रमा नेपालभारतका सुरक्षाकर्मीले संयुक्तरूपमा अपराध नियन्त्रणका लागि पेट्रोल गस्ती गर्ने विषयले पनि प्राथमिकता पाएको छ । दोहोरो नागरिकता लिएर बसेका नागरिकमाथि निगरानी गरी कानुनी कारबाही गर्ने विषयमा समेत सहमति बनेको सुरक्षा अधिकारीले जनाएका छन् ।

सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वार्टर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट, सीमा चौकी तथा सशस्त्र प्रहरीका विभिन्न बोर्डर आउट पोस्टका प्रमुखको सहभागिता थियो । भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजीवि थानाका इन्स्पेक्टर प्रदीप कुँवरलगायत सुरक्षाकर्मीको उपस्थिति थियो ।