धनगढी पोष्ट
बिहिबार, १८ असार २०७७ मा प्रकाशित
काठमाडौं
बाराका चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
आज बिहान परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।
बाराका डीएसपी गौतम मिश्रका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो । यसैगरी आजै विहान परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको डीएसपी मिश्रले बताए ।
चट्याङले सोही ठाउँ बस्ने अन्य ५ जना पनि घाइते भएको उनले बताए । घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।