धनगढी पोष्ट
शनिबार, २४ जेठ २०७७ मा प्रकाशित
धनगढी,
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । आज थप १३ जनामा कोरोना पुष्टि भएको हो । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणबाट थप १३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिवार थप भएकामा बझाङका ६, कैलाली र काठमाडौँका दुई दुई, अछाम, कञ्चनपुर, डडेल्धुराका एक एक जना रहेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाका ४१ बर्षीय पुरुष, धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ बर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका ३ का ३८ बर्षीय पुरुष, काठमाडौँका १८ र ३८ बर्षीय पुरुष, अछामको मंगलशैसन नगरपालिका वडा नम्वर १ की ५२ बर्षीय महिलामा कोरोना पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
डडेल्धुरामा एक सुत्केरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर जगदिस विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीय महिलालाई कोरोना भएको पुष्टि गरे । जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट प्रसुती सेवा लिनका लागि डडेल्धुरा अस्पताल पुगेकी उनको २२ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो । २३ गते शिशु जन्माएकी उनको आज कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यसैगरी बझाङको खप्तडछान्ना गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि एक जना मात्र संक्रमित रहेको बझाङमा ६ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ७ पुगेको हो । जिल्ला अस्पताल बझाङले दिएको जानकारी अनुसार २५, ३८, ५७, र ७० वर्षीय पुरुष तथा २ जना ४० वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू मध्ये ५ जना भारतको दिल्लीबाट १ हप्ता अगाडी आएको र १ जना २५ वर्षीय पुरुष २ हप्ता अघि काठमाडौंबाट बझाङ भित्रिएको बुझिएको छ ।