धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

कैलालीमा संचालन भएको सैपाल ग्याँसको बिक्रि वितरण शुरु

कैलालीमा संचालन भएको सैपाल ग्याँसको बिक्रि वितरण शुरु

धनगढी

          कैलालीको गोदावरी १ मा स्थापना गरिएको सैपाल ग्याँस उद्योगको उत्पादन आजदेखि बजारमा गएको छ ।

       एभरेस्ट ग्रुपले सैपाल ग्यास उद्योग मार्फत उत्पादित ग्याँस आजबाट बजारमा पठाएको छ । कैलाली र कञ्चनपुरका ४० वटा डिलर मार्फत ग्यास बजारमा पठाएको सैपाल ग्याँस प्रालिका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।

     काठमाडौं उपत्यकामा समेत गरि ६ वटा ग्याँस उद्योग रहेको एभरेष्ट ग्रुपले सैपाल ग्याँसका लागि आयल निगमबाट करिब तीन महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको अधयक्ष घिमिरेले जानकारी दिए । यो संगै एभरेष्ट गु्रपसंग ग्याँस उद्योगको संख्या ७ पुगेको छ ।

    करिव ३० करोड लगानीमा ४३ कट्टा जग्गामा कैलालीको गोदावरी नगरपालिका १ मा उद्योग संचालन गरेको सैपाल ग्याँसले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने संचालक घिमिरेले जानकारी  दिए ।

    नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका सैपाल ग्यासका सञ्चालक घिमिरेले सैपाल ग्यासको उत्पादन सुदूरपश्चिम संगै कर्णाली र प्रदेश नम्वर ५ का बजारमा पनि पठाईने बताए ।

  उनले भने–‘न्युन मात्रामा उद्योगहरु रहेको सुदूरपश्चिममा सेवामुखि भावनाले हामीले उद्योग संचालन गरेका छौं, सबैको सहयोगले यसलाई थप बिस्तार गर्दै जाने  छौं । उनले यस पटक पहिलो बर्ष भएकोले बार्षिक ५६ करोडको कारोबार हुने अनुमान रहेको बताउँदै आगामी बर्षबाट थप बृद्धि हुदै जाने उल्लेख गरे ।

      करिब ३१ बर्षदेखि पेट्रोलियम कारोबार गर्दै आएको एभरेष्ट गु्रपले केहीदिन अघि मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकी श्रीमती निर्मलादेबी भट्ट लगायत ५ जनाको स्वामित्वमा रहेको उक्त ग्यास उद्योग १८ करोडमा किनेको थियो । 

  सुदूरपश्चिममा यो संगै ग्याँस उद्योग  दुईवटा भएका  छन् । केही बर्ष अघि देखि रेडियन्ट ग्याँस उद्योग पनि कैलालीको गोदावरी नगरपालिकाको मालाखेतीमै संचालनमा रहेको छ ।