धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

आइतबारसम्म असिना पानी सहित वर्षाको संभावना

आइतबारसम्म असिना पानी सहित वर्षाको संभावना

धनगढी । पश्चिमी वायु सक्रिय हुँदा सुदूरपश्चिम सहित देशभर चट्याङ सहित बर्षा, हिमपात र असिना पानी हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुनेछ ।

बुधबार दिनभर बदलि भएपनि फाटफट घाम लाग्न सक्ने जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाँशाखाका अनुसार बुधबार रातीबाट प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा मौसम आंशिक बदली रहनेछ ।

बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार रातिदेखि देशका केही स्थानमा असिनासहितको वर्षा हुने सम्भावना रहेको छ । यस्तो मौसमी अवस्था आगामी आइतबार बिहानसम्म कायम रहनेछ ।

यस प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार देशका देशका पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन चट्याङ÷असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाँशाखाले जनाएको छ । शुक्रबार गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ, भने उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ  ।

शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का पहाडी तथा तराई भेगका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ । पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली अहिले नेपाली आकाशमा विकास भएको छ । सोही प्रणालीले असिनासहितको वर्षा र हिमपातको सम्भावना विकसित गरेको हो ।