धनगढी पोष्ट
शुक्रबार, १९ असार २०७७ मा प्रकाशित
धनगढी
५ दिन अघि अर्थात यहि सोमबार कैलालीका केही स्थानमा सानो संख्यामा भित्रिएका सलह बिहिवार बेलुका कैलालीकै केही स्थानमा हजारौको संख्यामा देखिएपछि सर्तकता अपनाउन कृषि निर्देशनालयले अपिल गरेको छ ।
यसअघि स–सानो झुन्ड टुक्रिएर सलह किरा प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको थियो तर बिहिवार हजारौको झुण्डमा देखिएको सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।
निर्देशक जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा बिहिवार सलह किरा झुण्डमै देखिएको बताए । निर्देशक जोशीले भनेका छन् –‘हजारौको संख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ, सर्तक र सजगता अपनाउन आग्रह गर्दछु ।’
उनले प्रदेशवासीलाई फिल्ड अवलोकन गरि सलह पक्रन, छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न ठूलो आवाज निकाली थपाउन आग्रह समेत गरेका छन् । उनले भने–‘हजारौको संख्यामा रहेका सलह किरा बिहान ८ बजेसम्म मात्रै देखिन्छन त्यस समय भित्र फिल्डमा गएर सबै उपाय अपनाउनु आवश्यक छ ।’
उनले किरा पक्रेर ल्याए २५ रुपैँयाका दरले प्रदेश सरकारले खरिद गर्ने निर्णय यस अघि नै गरिसकेको बताउँदै सलह नियन्त्रणका लागि प्रदेश सरकार कृषि निर्देशनालय हर प्रयास गरिरहेको र यसमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।