धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

शबको अन्त्येष्टि पछि कोरोना पुष्टि भएपछि वडा सिल गरियो

शुक्रवार मृत्युभएकी महिलामा शनिबार कोरोना पुष्टि भएको हो

शबको अन्त्येष्टि पछि कोरोना पुष्टि भएपछि वडा सिल गरियो

धनगढी

   डायलाइसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका४ की ५५ वर्षीया एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएपछि पुरै वडा सिल गरिएको छ । सेती प्रादेशिक अस्पतालको डायलाइसिस वार्डमा शुक्रबार बिहान मृत्यु भएकी ती महिलाको शब शनिबार धनगढीको मोहना नदीमा अन्त्येष्टि गरिएको थियो ।  अन्त्येष्टि पछि शनिवार दिउँसो रिपोर्ट पोजेटिभ आएपछि आफन्त र स्थानीय त्रसित बनेका छन् ।

   धनगढी  वडा नम्बर ४ का अध्यक्ष दिपक थापाले अन्त्यष्टिमा करिब ५० जना मलामी सहभागी रहेको बताए । अन्त्येष्टिमा सहभागी भएका सबै मलामीको कन्ट्याक्ट टे«सिङ गरिने भएको छ । त्यसका साथै वडा अध्यक्ष थापाले वडा सिल गर्न प्रशासनसंग आग्रह गरेका छन् ।

  वडा अध्यक्षको आग्रहपछि अहिले बेलुका ८ बजेदेखि धनगढी उपमहानगरपालिका वडा नंम्बर ४ लाई सिल गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए । उनले भने– ‘खासगरी मृतकको घर आसपास र मलामी गएकाहरुको एरिया सिल गरिएको छ ।

     थ्रोट स्वाबको रिपोर्ट आउनु अघि नै अस्पतालले शुक्रबार नै शब आफन्तलाई बुझाएको थियो । शुक्रबार मध्याह्न शब बुझेका आफन्तले अटो रिक्सामा राखेर शब घरमा पु¥याएका थिए । शुक्रबार दिनभर पानी परेकाले शनिवार बिहान मात्र दाहसंस्कार गरिएको मृतकका आफन्तले बताए । शुक्रबार बिहान सेतीमा डायलाइसिस सुरु गरेको पाँच मिनेटमै महिलाको मृत्यु भएको थियो । बिराङ्गना हेल्थ केयरले सञ्चालन गरिरहेको डायलाइसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलाइसिस सुरु गर्नु अघि आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो । महिलाको मृत्यु भइसकेपछि कोरोना जाँचका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको उनले बताए ।