धनगढी पोष्ट
आइतबार, २१ असार २०७७ मा प्रकाशित
धनगढी
प्रतिपक्षी दलहरुको अवरोधकै बिच सुदूरपश्चिम प्रदेश सभाको बैठक संचालन भएको छ । आज बिहान ८ बजे तोकिएको प्रदेश सभा बैठक केही बेर ढिला संचालन भएपनि बैठक शुरु हुनासाथ प्रतिपक्ष दल नेपाली काँग्रेस र जसपाले अबरोध गरेको थियो ।
प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरुले आ–आफ्नो ठाउँबाट उठेर नाराबाजी गरेका थिए । उनिहरुले लगातार नाराबाजी गरेपनि नाराबाजीकै बिच सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको बैठक अगाडी बढाएका हुन् ।
सोही क्रममा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बजेट माथिको छलफल शुरु होस भन्न प्रस्ताब बैठकमा प्रस्तुत गरेका थिए । सो प्रस्ताब बहुमतले पारित गरेसंगै आजको प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालय सचिब रामसिंह धामीले जानकारी दिए । अर्को बैठक सोमबार दिउसो ३ बजे बजे तोकिएको छ । अब यो संगै प्रतिपक्षको अबरोधका बिच बजेट माथिको छलफल शुरु हुने भएको छ ।
प्रदेश सभाको बैठक बिहीवार पाँचौ पटक स्थगित गरिएको थियो । प्रतिपक्षी दलहरुको अवरोधका कारण सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार स्थगित हुदै आए पनि अहिलेसम्म निकास निस्किन सकेको छैन । आज बिहान पनि सत्ता पक्ष र प्रतिपक्ष बिच छलफल भएपनि सहमती हुन नसकेको प्रतिपक्षी दल नेपाली काँग्रेस संसदिय दलका नेता डा क्टर रणबहादुर रावलले बताए । उनले भने–‘कारोना नियन्त्रण र भ्रष्टाचार जस्तो बिषयमा सत्तापक्षले उदारो सहमति गर्न खोज्यो तर हामीले मानेनौ ।’ आजको प्रदेश सभा बैठक आफुहरुको अबरोधका बिच संचालन गरिएको उनले बताए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा प्रभावकारी रुपमा काम नगरेको भन्दै बिरोध गरिरहेका छन् । प्रतिपक्षी दलहरूले तत्काल ‘कोरोनाको पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने’ माग गर्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएका छन् ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेट प्रस्तुत भएको २० दिन भइसक्दा पनि सदनमा छलफल नै अघि बढ्न सकेको छैन ।