धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
दार्चुलामा बाढी तथा पहिरो वितण्डा: पाँच जनाको मृत्यु, १० वेपत्ता

निर्माणाधिन सडकले खोला थुन्दा ठुलो क्षति निम्त्यायो

निर्माणाधिन सडकले खोला थुन्दा ठुलो क्षति निम्त्यायो

धनगढी । तीन वर्षअघि दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ र २ जोड्न ठाउँ–ठाउँमा सडक खनिए । सो सडकको निर्माण गर्दा माथिबाट आएको माटो, ढुङ्गा तथा बोटविरुवाले खोला थुनिदै गयो ।

शुक्रबार राती अचानक भएको वर्षाबाट निम्तिएको बाढी तथा पहिरोमा परि खोला किनारमा रहेका पाँच जनाको मृत्यु, सात जना घाईते र १० जना वेपत्ता बनाएको छ ।‘राती दुई घण्टा लगातार वर्षा भईरह्यो । तीन वजे वर्षा शान्त भएपनि बाढी तथा पहिरो जाने क्रम भने रोकिएन’ नेपाल रेडक्रस सोसाईटी दार्चुलाका सभापति गोपाल सिंह महराले भने –‘साउनपछि वर्षा सामान्य हुने अनुमान गरेको भएपनि अचानक आएको वेमौसमी वर्षाले ठुलो जनधनको क्षति पुग्यो ।’ उनले महाकाली नदीको बहाव पनि सामान्य रहँदा  जनधनको क्षति पुर्याउने गरि निम्तिएको बाढी तथा पहिरोलाई जथाभावी खोलिन लागेको सडक ट्र्याकलाई मुख्य कारण बताए । उनले खोलाको माथिल्लो भागमा बर्षाको पानी जम्मा भएर एकै पटक बग्दा ठुलो क्षती भएको बताए ।

स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको १, २, ३ र ४ नम्बर वडा प्रभावित भएका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर चुनाराले लस्कु खोला यस अघि त्यसरी क्षति पुर्याउने गरि कहिल्यै नआएको बताए । 

‘चार बर्ष अघि खोला सामान्य रुपमा आफ्नै लयमा थियो’ वडा अध्यक्ष चुनाराले भने, ‘तर, सडक निर्माण भएपछि बेला–बेला खोलाले केही स्थानमा सामान्य पहिरो निम्त्याएपनि यसरी ठुलो जनधनको क्षति हुने गरि कहिले आएको थिएन ।’ उनले यस पटक सामान्य खोलाले अकल्पिनिय क्षति पुर्याएको बताए ।

उनले सडक खन्दा खोलामा ढुंगा माटो थुप्रिएको बताउँदै –‘त्यसले खोला थुनेर ड्याम बनेको हुन सक्ने देखिएको छ । ड्याम एकैपटक फुट्दा बढी क्षति भएको होकी भन्ने अनुमान गरिएको छ, तर यो नै कारण हो भनेर भन्न सकिने अवस्था भने छैन ।’

‘पहिलो पटक जनप्रतिनीधि निर्वाचित भएर आएपछि ३–४ बर्ष अघि खोलाको माथिल्लो क्षेत्रमा सडक खनिएका थिए,’ उनले भने, ‘त्यतीवेला पहिलो पटक खोलामा पानीको सतह धेरै बढेको थियो, अहिले बाटो मर्मत गर्दा झनै उर्लुर जन धनको ठुलो क्षेती गरेको छ ।’ वडा अध्यक्ष चुनाराका अनुसार लस्कु खोलाको उद्गम स्थल महाकाली नगरपालिका भीत्रै पर्छ । वडा नम्बर–२ भएर बग्ने लस्कु खोला वडा नम्बर–३ र १ हुँदौ वडा नम्बर–४ बाट महाकालीमा मिसिने गर्दछ ।

नेपाल रेडक्रस सोसाईटी दार्चुलाका सभापति महराले लस्कु खोलामा थुप्रिएका ढुङ्गा, माटो र बोटविरुवाले अहिले महाकाली नदीलाई पनि थुनेको बताए । ‘लस्कु खोलाबाट आएको पहिरोले थुन्दा महाकाली नदी पनि अहिले एकतफ्री रुपमा बगिरहेको छ’ उनले भने –‘अझै वर्षात भएमा थप जोखिम निम्त्याउने देखिन्छ ।’

महाकाली र लास्कु खोलामा आएको बाढीपछि महाकाली नदी थुनिएको छ । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म बाँध बनेको छ । थुनिएको नदी खुलाउन तथा जोखिममा रहेका स्थानीयको तत्काल उद्धार गर्न माग भइरहेको छ ।

नदी थुनिएपछि दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलंगा आउने–जाने बाटो समेत बन्द भएको स्थानीय समाजसेवी हरदेब जोशीले बताए । बाढी पहिरोकै कारण दुहुँ र नौगाड क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदी थुनिएपछि धार परिवर्तन भएर नेपालतर्फ थप क्षति हुने भन्दै स्थानीयले थुनिएको नदी खुलाउन सरकारसंग माग गरेका छन् ।

पाँचको मृत्यु, १० वेपत्ता

दार्चुलामा शुक्रबार रातीको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता रहेका छन् । 

बाढी पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, सोही ठाउँका १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । 

बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेको मगरले बताए ।

दार्चुलाका सयौँ मानिस बाढी पहिरोबाट प्रभावित भएका छन् । आठ जना घाइते भएका छन् । गम्भीर घाइते पाँच जनाको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक मगरले बताए । घाइते मध्ये बिरेन्द्र ठगुन्नाको अवस्था गम्भीर छ । सल्ला गाउँमा घर माथीबाट पहिरो खस्दा उनिहरु घाइते भएको बताइएको छ । 

बाढी पहिरोमा परी दुई सय ६३ पशुचौपाया क्षति भएको प्रहरीको तथ्यांक छ । महाकाली नगरपालिकाका ६२ र नौगाड गाउँपालिकामा २९ गरी ९१ घरमा क्षति पुगेको छ । प्रहरी निरीक्षक मगरका अनुसार, ४२ घर पूर्ण क्षति भएको, ९ घर आशिंक क्षति भएको र ४० घर बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । 

सरकारी संरचनातर्फ दुर्गेश्वरी आबि पण्डोरा र दशरथ आबि बंगाबगर बगाएको छ । डुङरी विद्युत पावर हाउस पूर्ण रुपमा क्षति भएको छ । लास्कुखोलामा एउटा झोलुंगे पुल र एउटा मोटरेबल पुल बगाएको छ । नौगाडमा दुई वटा झोलुंगे पुल, दुई वटा आरसीसी पुल र दुई वटा घट्ट बगाएको छ । सवारी साधनतर्फ छ वटा जिप, एउटा ट्याक्टर, एउटा जेसिभि बगाएको छ । नौगाड गाउँपालिका–१ नागुमा चट्याङ लागेर स्थानीयका दुई सय भेडाबाख्रा मरेको स्थानीय श्याम धामीले बताए ।

सक्रियतापूर्वक उद्धार, राहतका लागि पहल

एक्कासी परेको अबिरल वर्षाका कारण आएको बाढी पहिरोले वितण्डा मच्चाएपछि दार्चुलाका सयौँ मानिस प्रभावित भएका छन् । बाढी पहिरो प्रभावितहरुको खोजि र उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै नेपाल रेडक्रम, स्थानीय र राजनीतिक दलहरुले सक्रियतापूर्वक काम गरेका छन् ।

घाइतेको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामाग्री समेत पुर्याईएको छ । राहत वितरणका लागि नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली समेत दार्चुला पुगेको छ । 

प्रतनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना उद्धार र राहतका लागि शुक्रबार राति देखि नै निरन्तर पहल गरिरहेका छन । संघीय र सुदूरपश्चिम प्रदेश सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । 

स्थानीय तहहरुले तत्काल बाढी पहिरो प्रभावितलाई त्रिपाल, राशन लगायत सहयोग गरेका छन् । कार्यपालिकाको निर्णय अनुसार थप राहतको व्यवस्थापन गरिने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीरले बताए । राहत र उद्धारका लागि विभिन्न राजनीतिक दलहरुले समेत नेता, कार्यकर्तालाई अनुरोध गरेका थिए । मन्त्री दिलेन्द्रप्रसाद बडू, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन तथा वातावरण मन्त्री मानबहादुर धामी, आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल लगायत नेताहरुले समेत उद्धार र राहतका लागि निरन्तर पहल र समन्वय गरिरहेका छन ।