धनगढी पोष्ट शनिबार, १७ कार्तिक २०८१   November 2, 2024

अपाङ्गता प्रादेशिक निर्देशक समितिले पुर्णता पायो

अपाङ्गता प्रादेशिक निर्देशक समितिले पुर्णता पायो

धनगढी । सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच वर्षपछि अपाङ्गता प्रादेशिक निर्देशक समितिले पुर्णाता पाएको छ ।

प्रदेश सरकार गठन भएको पाँच वर्ष पुग्नै लागेपछि सामाजिक विकास मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिले शुक्रबार पूर्णता पाएको हो ।

शुक्रबार मन्त्री गोविन्द बहादुर बोहराले शाररिक अपाङ्गताका तर्फबाट डडेल्धुराका गणेश प्रसाद अवस्थी, दृष्टिविहिनका तर्फबाट कञ्चनपुरका खेमा सापकोटा (पन्त) र बहिराका तर्फबाट कैलालीका दिनेश पनेरुलाई मनोनित गर्दै समितिलाई पूर्णता दिए । उनीहरुलाई शुक्रबार नै मन्त्री बोहराले नियुक्ति पत्र प्रदान गरि बधाई समेत दिएका छन् ।

सो समितिले अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन, वार्षिक कार्ययोजनाको स्वीकृत प्रदान, कार्यक्रम सम्बन्धी वार्षिक, अर्धवार्षिक समीक्षा कार्यक्रमहरुमा सहभागि हुने र प्रतिवेदनहरु स्वीकृत गर्ने, कार्यक्रम कार्यान्वयनका लागि आवश्यकता अनुसार अनुगमन गर्ने लगायतका भुमिका र जिम्मेवारी रहने छ ।

चार वर्षसम्म सो समिति गठन नहुँदा अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा कार्यरत संघ÷संस्थाहरुले प्रदेश सरकारले ल्याउने वार्षिक बजेट, नीति तथा कार्यक्रम अपाङ्गमैत्री हुन नसकेको गुनासो गर्दै आएका थिए । उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि यथाशिघ्र समिति गठन गर्न दबाब दिँदै आएका थिए ।

बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बोहराले ढिलै भए पनि समितिले पूर्णता पाएको बताउँदै निर्देशक समितिमा मनोनित भएका व्यक्तिहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि इमान्दारिपुर्वक काम गर्न निर्देशन दिए ।