धनगढी पोष्ट
आइतबार, २५ जेठ २०७७ मा प्रकाशित
धनगढी,
शनिबार साँझ र आइतबार बिहान गरी सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका दुई जनाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका र डोटीको केआइसिंह गाउँपालिकामा क्वारेन्टाइनमा रहेका उनीहरुको मृत्यु भएको हो ।
बैतडीमा पाटन नगरपालिकाको वडा नम्बर ६ सन्तोलीका ३१ बर्षीय पुरुष र डोटीमा के आइसिंह गाउँपालिका वडा नम्बर ३ का १९ बर्षीय पुरुषको निधन भएको हो । मृतक दुबै जनामा कोरोना भारइसको संक्रमण रहे नरहेको बारे जाँच गर्न स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालको प्रयोगशाला पठाइदैंछ । बैतडीमा मत्यु भएका युवकको स्वाब संकलन गरिसकिएके छ भने डोटीका मृतको स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरुको टोली सदरमुकामबाट केआइसिंह गाउँपालिका तर्फ गएको छ ।
बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएका युवा शनिबार साँझ मात्रै भारतको बैंगलोरबाट पाटन आइपुगेको र उनलाई भीमदत्त पन्त पोलीटेक्निकल कलेजको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बसेकै बेला एक्कासी बेहोस भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिस्टेन्ट प्रेमसागर भट्टले बताए ।
स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्य बहादुर विष्टका अनुसार आज बिहान सिताराम आधारभुत विद्यालयको क्वारेन्टिमा ती युवकको मृत्यु भएको बताए । युवक ७ दिन पहिले भारतको लुधियानाबाट फर्किएका हुन् । जेठ २० गते भारतबाट फर्केर क्वारेन्टाइनमा रहेका युवा मुटु रोगी रहेको र शनिबार राति बेहोस भइ ढलेपछि उनको स्याहारका लागि उनका बुवा समेत क्वारेन्टाइन पुगेका थिए । उनको आइतबार बिहान मृत्यु भएको हो । उनका बुवाका अनुसार उनमा १२ बर्ष देखि मुटु सम्बन्धी रोग थियो ।
केआइसिंह गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख तिलक बहादुर बोहराका अनुसार कारोना परीक्षणको रिपोर्ट नआउँदासम्म उनको शब अन्तिम संस्कारका लागि परिवारलाई दिइने छैन । उक्त क्वारेन्टिनमा तीन महिला सहित १० जना रहेका छन् ।
मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।