धनगढी पोष्ट
बिहिबार, ०६ असोज २०७९ मा प्रकाशित
धनगढी । भजनी नगरपालिका वडा नम्बर ८ की रामकृष्णी चौधरीलाई दुई लाख रकम हष्तान्तरण गरियो । संघिय सरकारले विपद राहत मापदण्ड अनुसार उपलब्ध गराउने राहत रकम रामकृष्णीलाई घरमै पुगेर हष्तान्तरण गरिएको हो ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले उनलाई घरमै पुगेर राहत रकम हष्तान्तरण गरेका छन । रामकृष्णीकी श्रीमान कालुराम चौधरी बाढीमा परि मृत्यु भएको थियो । मन्त्री रावलले भने –‘संघिय सरकारले उपलब्ध गराएको रकम हष्तान्तरण गर्न आएका हौं । प्रदेश सरकारले उपलब्ध गराउने एक लाख रकम छिट्टै दिइने छ ।’ संघिय सरकारको विपद राहत मापदण्डअनुसार मृतकका परिवारलाई दुई लाख रकम उपलब्ध गराईने व्यवस्था छ ।
सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराउने राहत रकम मन्त्रालयमा सचिव नहुँदा हष्तान्तरण गर्न नसकिएको मन्त्री रावलले बताए । उनले भने –‘प्रदेश सरकारको राहत मापदण्ड अनुसारको रकम सचिव नहुँदा अहिले हष्तान्तरण गर्न सकिएन । छिट्टै हजुरले पाउनुहुने छ ।’ प्रदेश सरकारले राहत रकमसंगै क्रिया खर्च पनि मृतकका परिवारलाई उपलब्ध गराउने छ ।
राहत रकम बुझ्दै रामकृष्णीले भनिन –‘बाढीको समस्या यहाँको पुरानै हो, तर कुनै पनि सरकारले समाधान दिएन ।’ उनलाई बाढीमा श्रीमान गुमाउनुको पीडासंगै सरकारले त्यस क्षेत्रको समस्या समाधानमा ध्यान नदिएकोप्रति गुनासो छ । उनले भनिन ‘मैले जेका कारण श्रीमान गुमाएको छु । त्यसको समाधान सरकारले ल्याउनुप¥यो, यो समस्याका कारण अन्यका श्रीमान, छोराछोरीले ज्यान नगुमाउन् ।’
तीन दिन लगातार परेको वर्षाका कारण भजनी नगरपालिकामा दुई जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका छन । संघिय सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रकम जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मंगलबार उपलब्ध गराएको हो ।
राहत रकम वितरणमा मन्त्री रावलसंगै प्रदेश सभा सदस्य विरमान चौधरी, भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
यस्तै, नेपाल रेडक्रस सोसाईटीले बाढी पीडित एक सय घरपरिवारलाई त्रिपाल वितरण गरेको थियो ।