धनगढी पोष्ट शुक्रबार, २७ असार २०८२   July 11, 2025

दार्चुलामा जीप दुर्घटना, एकको मृत्यु

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गएराति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पाँचजना सख्त घाइते भएका छन् ।

मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन्। उनको घटनास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए। 

मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो। जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए।

तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन्। घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।