धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सुपथ पसलमा चिनी छैन

साल्ट ट्रेडिङ कर्पोेरेसनको सुपथ मुल्यल पसलमा नुन, तेल र चिउरा मात्र पाइन्छ । ग्राहकले बढी खोज्ने चिनी र चामल छैन ।

सुपथ पसलमा चिनी छैन

धनगढी । दशैं तिहारमा सवै भन्दा बढी माग हुने गरेको चिनी दुई बर्षदेखि सुपथ मुल्य पसलमा बिक्री हुन छोडेको छ । 

ग्राहकले सबै भन्दा बढी चिनी खोज्ने भए पनि सरकारले उपलब्ध नगराएको भन्दै साल्ट ट्रेडिङ कर्पोेरेसन लिमिटेडले भने गत बर्ष देखि नै चिनी बिक्रि गर्न छोडेको हो ।

‘चिनी भारतबाट ल्याउनु पर्ने भए पनि सरकारले अनुमति दिएको छैन’ साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड धनगढीका सूचना अधिकारी रामचन्द्र जोशीले भने, ‘नेपाली चिनी खरिद गरेर सहुलियतमा दिन सकिने अवस्था छैन, त्यसैले गत बर्षदेखि नै चिनी बिक्री गर्न नसकिएको हो ।’

सरकारले चिनी आयातमा कर लगाएपछि अर्थ मन्त्रालयले भारतबाट चिनी खरिदको अनुमति नदिएको उनले बताए । 

यता ग्राहक भने चिनिकै लागि सुपथ मुल्यमा पुग्ने गरेका छन् । ‘चिनी सस्तो पाउँछ भनेर सुपथ मुल्य सपलमा आएकी हुँ,’ धनगढी–५ हसनपुरकी सीता भट्टले भनिन्, ‘तर यहाँ चिनी रहेन छ, खालि हात फर्कनु प¥यो ।’

चाडवाडमा साल्ट टे«डिङले चिनी उपलब्ध नगराएपछि भारतको बनगाउँ बजार जाने सोच बनाएको उनले बताइन् । 

‘चाडवाडमा धेरै चिनी चाहिन्छ,’ उनले भनिन्, ‘बनगाउँबाट ल्याउँदा नेपाल भन्दा २० रुपैंया सस्तो पर्ने भएका कारण धेरै चिनी चाहिदा त्यतै जाने गरेका छौं ।’ बनगाउँ जान बाटोको समस्या हुने गरेका कारण साल्ट ट्रेडिङबाट चिनि किन्ने योजना बनाएको उनले बताइन् ।

तर साल्ट ट्रेडिङले चिनी नदिएको र धनगढी बजारमा धेरै महंगो भएका कारण भारतको बनगाउँ जानु परेको उनले बताइन् । धनगढी बजारमा चिनीको मुल्य ९० रुपैंया प्रति किलो बिक्री भइरहेको छ । बनगाउँमा भने ६८ रुपैयाँमै चिनी पाइने गरेको छ । सुपथ मुल्य पसलमा चिनी  सस्तोमा पाइदा बजारमा पनि मुल्य केही घट््ने गरेको थियो ।

साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले धनगढी र गोदावरीमा सुपथ मुल्य पसल सञ्चालन गरिरहेको छ । सो पसलबाट नून, चिउरा, खाने तेलमा छुट दिने गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सूचना अधिकारी रामचन्द्र जोशीका अनुसार नूनमा दुई रुपैंया छुट दिएर प्रति किलो १८ रुपैयाँमा बिक्री भइरहेको छ  । एक जनालाई एक दिनमा बढीमा ६ किलो नून दिने गरिएको छ ।

यसैगरी चिउरामा प्रतिकिलो ७ रुपैया छुट दिएर ८८ रुपैयाँमा बिक्री गर्ने गरिएको छ भने स्वस्तिक तोरीको तेलमा प्रति लिटर ७ रुपैया छुट दिएर तीन सय ५ रुपैंयामा बिक्री गर्ने गरिएको सूचना अधिकारी जोशीले बताए । जोशीका अनुसार एक दिनमा एक जनालाई चिउरा ४ किलो र खानेतेल ४ लिटर सम्म दिइने गरिएको छ ।

पहाडमा सञ्चालन भएन 

धनगढी । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत बर्षसम्म सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएकोमा यस बर्ष भने तराईलाई मात्रै केन्द्रित गरेर सुपथ मुल्य पसल सञ्चालन गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको केन्द्रिय नीतिका कारण पहाडी क्षेत्रमा सुपथ मुल्य पसल सञ्चालन गर्न नसकिएको जनाइएको छ ।

‘केन्द्रबाट हरेक दिन कम्प्यूटर बील सहित कारोवारको विवरण माग गरिएको छ,’ साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीका सूचना अधिकारी जोशीले भने, ‘पहाडी क्षेत्रमा कम्प्यूटरको समस्याका कारण बिलिङ गर्न नसकिने भएपछि यस पटक धनगढी र गोदावरीबाट मात्रै सुपथ मुल्य पसल सञ्चालन गरिएको हो ।’ 

साल्ट टे«डिङले गत बर्ष सम्म बैतडी, बझाङ र डोटीमा पनि सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको थियो । तर केन्द्रले सर्भर प्रणाली लागु गरेपछि भने अन्य स्थानमा सुपथ मुल्य पसल सञ्चालन गर्न नसकिएको उनले बताए । केन्द्रसंग धनगढीको सर्भर प्रणाली मात्रै जोडिएको उनले बताए । 

खाद्यको चामलमा  ७ रुपैंया छुट 

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलमा प्रति किलो ७ रुपैंया छुट दिएर सुपथ मुल्य पसल सञ्चालन गरेको छ ।

धनगढी स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय र धनगढी–१३ स्थित मोहनपुरको गोदाममा सुपथ मुल्य पसल सञ्चालन गरेर चामल बिक्री गरिरहेको कम्पनीकी प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन् । 

उनका अनुसार मोटो चामल सहुलियत सहित ३९ सय रुपैयाँ प्रति किलोका दरले बिक्री भइरहेको छ । त्यसैगरी मसिनो चामल (स्टिम जिरा) ६० रुपैया प्रतिकिलो र बास्मती चामल १ सय ३ रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ । बिहीबार सम्म ३० क्वीन्टल चामल बिक्री भइसकेको प्रदेश प्रमुख बस्नेतले बताइन् ।

खाद्य व्यवस्था कम्पनीले छठसम्म ५ सय क्वीन्टल चामल बिक्री गर्ने लक्ष्य राखेको छ । कार्यालय प्रमुख बस्नेतका अनुसार आज (शुक्रबार) देखि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको सुपथ मुल्य पसलबाट पनि खाद्यको चामल बिक्री हुने छ ।