धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

उद्योगी व्यवसायी आन्दोलित हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योगी व्यवसायीहरु आन्दोलित हुने भएका छन । सरकारले जारी गरेको नयाँ मौद्रिक नीति, वाणिज्य कार्यालयको अनुगमन, धनगढी उपमहानगरपालिकाले प्लाष्टिकजन्य बस्तुको निषेध गरेको लगायतको विषयमा आपत्ती जनाउँदै व्यवसायीहरु आन्दोलित हुन लागेका हुन् ।

बिहीबार धनगढीमा नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट उपाध्यक्ष रामचन्द्र संघाईको उपस्थितिमा बसेको सरोकारवालाहरुसंगको बैठकबाट प्रदेशका व्यवसायीहरुले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने घोषणा गरेका हुन् ।

उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले सरकारले व्यवसायीलाई विस्थापन गर्ने गरि विभिन्न निर्णय गर्दै आएकोले त्यसका विरुद्ध व्यवसायीहरु एक भएर चरणबद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले सरकारको निर्णयका कारण साना तथा मझौला व्यवसायीहरु बढी मारमा परिरहेको बताए । 

सरकारले ल्याएको मौद्रिक नीतिले व्यवसायीहरुले ब्याज तिर्न मारमा पर्ने उनले बताए ।

महासंघका एशोसियट उपाध्यक्ष संघाईले सरकारको अहिलेको कदमले अझै ब्याज दर कम गर्ने भन्दा पनि थप बढाउने देखिएको बताए । ‘अझै ब्याज दर बढ्ने संकेत देखिएको छ’ उनले भने –‘व्यवसायमा एकता भएन र आन्दोलन गर्ने सक्षमता भएन भने अझै सरकारको नीति कडा बन्ने देखिन्छ ।’ उनले सरकार र नीजि व्यवसायीबिच भएको भद्र सहमति विपरित सरकारले ब्याज वृद्धि गरेको बताए ।

कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दिनेश भण्डारीले बैंकले ल्याएको नीजि ब्याजदर व्यवसायीहरुको पक्षमा नरहेको बताए । ‘कोभिड महामारीपछि व्यवसायी त्यसै घाटामा गएका छन । यस्तो समयमा सरकारले व्यवसायीलाई सहुलियत हुने कार्यक्रम ल्याउनु पर्ने थियो’ उनले भने –‘तर, सरकारको निर्णयहरुले व्यवसायीमाथि थप कडाई गरिरहेको छ ।’ उनले सरकारले व्यवसायीलाई दुश्मनको नजरले हेरिरहेको बताए । उनले शान्तिपूर्ण विरोधले सरकारले व्यवसायीको पीडा नबुझ्ने भएकाले कडाई रुपमा आन्दोलन गर्नुपर्ने सुझाव दिए ।

कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले सरकारका कदमले व्यवसायीहरु आतंकित हुनुपर्ने अवस्था आईरहेको बताए । अचाकली ब्याज बृद्धि, मनोमानी ढंगले अनुगमन लगायतका कारण सरकारबाट व्यवसायीहरु डराई रहेको उनको भनाई छ ।