धनगढी पोष्ट
शनिबार, ०८ असोज २०७९ मा प्रकाशित
धनगढी । बैंक तथा वित्तिय संस्थाले ब्याजदर बढाएको भन्दै नेपाल उद्योग तथा व्यवसायी महासंघ सुदूरपश्चिमले वृद्धि गरिएको ब्याजदर फिर्ता गर्न माग गरेको छ ।
मूल्य बृद्धिसँगै तरलता अभाव बढेका बेला बैँक तथा बित्तिय संघसंस्थाहरुले ब्याजदर बढाउँदा थप समस्या निम्त्याएको जनाएको भन्दै महाँसंघले नेपाल राष्ट्र बैंकलाई सो ब्याजदर घटाउन ज्ञापन पत्र बुझाएको हो । ब्याजदरमा गरिएको उच्च बृद्धिले उद्योगी व्यवसायीहरुलाई मारमा पारेको भन्दै शिघ्र समस्याको समाधान खोज्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।
शुक्रबार नेपाल राष्ट्र बैँक धनगढीका निर्देशक बिनोद लेखकमार्फत राष्ट्र बैँकका गर्भनरलाई ज्ञापन पत्र बुझाउँदै उद्योग तथा व्यवसायी महासंघ प्रदेश समितिले राष्ट्र बैँकको निर्देशनअनुसार भन्दै बैँकहरुले आफूखुसी ब्याजदर बृद्धि गरेर मनोमानी गरेकाले त्यसलाई रोक्न आग्रह गरेको छ ।
ज्ञापन पत्र बुझ्दै नेपाल राष्ट्र बैंकका धनगढी निर्देशक बिनोद लेखकले सो पत्र केन्द्रिय विभागमा पठाउने बताए । उनले व्यवसायीलाई सहजता प्रदान गर्न आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्न तयार रहेको बताए ।