धनगढी । सुदूरपश्चिमाञ्चल बहुउद्देश्यिय सहकारी संस्थाको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कैलाली जनपुस्तकालयको सभाहलमा शनिबार भएको सभाको आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले समुदघाटन गरेका थिए । सभामा मन्त्री रावलले सहकारीबाटै मानिसको आर्थिक सुधार ल्याउन सकिने बताए ।
‘सहकारीले देशको अर्थतन्त्रको ठुलो क्षेत्र ओगटेको छ’ उनले भने –‘सहकारीकै कारण मानिसमा बचतको विकास हुनुको साथै महिलाले श्रीमानमाथि परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ उनले प्रदेश सरकारले सहकारीको प्रवद्र्धन गर्न बजेट, नीतिमै कार्यक्रम समावेश गरेको बताए । प्रदेश सरकारले गाउ–गाउँमा सहकारी, घर–घरमा रोजगारी भन्ने नारालाई जोड दिएको उनले बताए ।
उनले सहकारी व्यवस्थित गराउन सहकारी शिक्षा आवश्यक रहेको बताए । उनले प्रदेश सरकारले सञ्चालन गर्न लागेको स्वरोजगार कार्यक्रममा पनि सहकारीलाई प्राथमिकता राखेको बताए । उनले भने –‘स्वरोजगार कोषले सहकारीलाई लगानी गर्ने बाटो बनाउँछ ।’
उनले प्रदेश सरकारले प्रदेश भरीका सहकारीको भवन निर्माण गर्न पनि बजेट विनियोजन गरेको बताए ।
प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टीएन जोशीले सहकारी व्यवस्थित भएमा आम नागरिकको जीवन उकास्न सहयोग पुगाउने बताए । उनले सहकारीको व्यवस्थापन समिति सबल भए सहकारी पनि सबल बन्ने बताए ।
सहकारीका उपाध्यक्ष पुष्प कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी रजिष्टार कार्यालयका देवराज पन्त, सहकारीका सञ्चालक समितिका संस्थापक दीव्यनारायण श्रेष्ठ, सहकारीका सल्लाहकार द्रोपती भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सहकारीमा योगदान पुर्याएको भन्दै सहकारीका पदाधिकारी तथा कर्मचारीलाई सम्मान तथा प्रशंशा पत्र वितरण गरिएको थियो । सहकारीको अध्यक्ष पदमा रही सहकारीमा योग्दान पुर्याएको भन्दै अध्यक्ष भोजराज जोशीलाई सम्मान गरिएको थियो ।
यस्तै अत्तरिया सेवा केन्द्रकी सुशिला बलायर, फुलवारी सेवा केन्द्रका लोकराज जोशी, धनगढीकी मिना जोशी, अत्तरियाकी रमिता चौधरी र दयाकिशोर शर्मालाई विभिन्न विधा मार्फत दोसल्ला सहित प्रशंशा पत्र वितरण गरिएको थियो ।