धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
हिन्दुहरुको महान पर्व दशैं सुरु

घटस्थापनाका दिन घरघरमा जमरा राखिंदै

धनगढी । हिन्दु नेपालीको महान पर्व वडा दशैं आज बिहीबारदेखि शुरु भएको छ ।

घटस्थापनादेखि शुरु हुने यो पर्व १० दिनसम्म चल्ने गर्दछ । पहिलो दिन घर तथा मन्दिरमा विधिपूर्वक जमारा राख्ने गरिन्छ ।  दशैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ । शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

पुजा गर्दा नौ दिनसम्म कुन–कुन दिन कसको र के–के सामाग्री अर्पण गरी पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नु पर्दछ । वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा विधिपुर्वक दीप, कलश स्थापना गरी षोडशोपचारले पूजा हुने गर्दछ ।

सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आह्वान पूजन हुने गर्दछ । यसरी पूजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दूर्गा देवीका विभिन्न उपासना मन्त्रले आह्वान पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण नित्य गर्नु पर्दछ ।

घटस्थापना नवरात्रको पहिलो दिन हो । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । यस बर्ष घटस्थापनाको उत्तम साइत बिहान १० बजेर २३ मिनेटमा रहेको छ ।

गाईको घ्यूबाट बनाइएका परिकार चढाएर शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ ।

बडा दशैको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई ब्रहृमचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

त्यसैगरी बडा दशैको तेश्रो दिन चन्द्रघण्टाको पूजा आराधना गरिन्छ । दुःख कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद रहने विश्वस छ ।

चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ । साथै कुनैपनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपूवा दान गरेमा शुभ हुनेछ ।

पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ । स्कन्धमाताको पूजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने छ । यस दिनमा केराको भोग लगाएर पूजा आराधना गरेमा सफलता मिल्ने विश्वास रहेको छ ।

आकर्षण सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि नवरात्रीको छैटौं दिन कात्यायनी माताको पूजा आराधना गर्ने गरिन्छ । घरमा कुनै अविवाहित व्यक्ति भएमा वा विवाहमा बाधा अवरोध परेको अवस्थााम मह चढाएर माता कात्यायनीको पूजा आराधना गरेमा कार्यसिद्धि हुने मान्यता छ ।

नवरात्रको सातौं दिन अर्थात् सप्तमीमा पूजा कोठा वा दशैं घर मा फूलपाती भित्राउने चलन छ । यस दिन कालरात्रि भगवतीको पूजा गरिन्छ । कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाको लागि यदि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ ।

सप्तमीको दिन तुलजा भवानीको यात्रा बिहान ९ बजेर २१ मिनेटमा र स्थिराशन बिहान १० बजेर २ मिनेटमा निर्धारण गरिएको छ ।

महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्दछ । यस दिन महागौरीको पूजा आराधना गरेमा सन्तान सुख मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

घटस्थापनाको नवौं दिन अर्थात् नवमी तिथिका दिन सिद्धिदात्री भगवतीको पूजा आराधना गर्नुपर्दछ । घ्यू चढाएर सिद्धिदात्रीको पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख छ ।

सप्तधान्य (जमरा) क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । सप्तधान्य अंकुर दुर्गादेवीको प्रिय भएकाले सप्तधान्य रोपण गरी दूर्गा देवीलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

यस वर्षको विजया दशमी अर्थात दशैंको टीका असोज १९ गते बुधबार परेको छ । विजयादशमीका दिन बिहान ११ बजेर ५१ मिनेटलाई टिकाको उत्तम साईत मानिएको छ । 

त्यसो त देवी दूर्गाको प्रसाद भएकाले टीका लगाउन दिनभरि नै शुभ मानिएको छ तर उत्तम साइत हेर्नेहरुका लागि भने ११ बजेर  बजेर ५१ मिनेट निर्धारण गरिएको हो ।

स्थान अनुसार टीका लगाइदिने व्यक्ति दक्षिणतर्फ फर्किने र टीका थाप्ने व्यक्ति पूर्वतर्फ फर्किने गर्नुपर्दछ । अथवा टीका थाप्ने व्यक्ति दाहिने चन्द्रमा पारी टीका थाप्न बस्नुपर्दछ । आमा–बुवा, गुरु तथा मान्यजनहरुबाट देवीको प्रसादस्वरुप रातो टीका र जमरा ग्रहण गर्ने तथा आशिर्वाद ग्रहण गर्ने चलन छ । 

दशै शुरु

आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।

आषाढ शुक्ल, आश्विन शुक्ल, माघशुक्ल र चैत्र शुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछन् । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्लपक्षका तिथिहरुलाई ‘गुप्त नवरात्र’ भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् ।