धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
बिश्व पर्यटन दिवस

धनगढीः पाँच वर्षदेखि उही कार्यक्रम

धनगढी ।  सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष ०७९/८० सम्म ल्याएको नीति, कार्यक्रम तथा बजेट पुस्तिकामा पर्यटनका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।

उपमहानगरपालिकाले पर्यटन विकासका लागि आर्थिक वर्ष २०७४/७५ को नीतिलाई निरन्तरता दिने गरि २०७९/८० सम्मको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी नरेन्द्र बहादुर खातीले भने– ‘नीतिमा पर्यटन क्षेत्रको विकासका राम्रा कार्यक्रम छन्, तर बजेट विनियोजन गरिएको छैन ।’ 

धनगढी उपमहानगरपालिकाले खोलानालाको अतिक्रमित जग्गामा साइकल पथ तथा हरियाली पार्क निर्माण गर्ने योजना आर्थिक वर्ष २०७४/७५ मा अघि सारेको थियो । तर, त्यस समयमा कुनै पनि काम अघि बढेन । उनले भने– ‘साइकल ट्रयाक खोल्ने नीतिमा उल्लेख छ, तर बजेट छैन ।’ 

उनले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म पनि बजेट नहुँदा कार्यान्वयन हुन नसकेको बताए ।

उपमहानगरपालिकाले कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सामुदायिक वन भित्रबाट बग्ने कैलाली खोला सहितको क्षेत्रलाई संरक्षण गरी सामुदायिक वनलाई स्थानीय उद्यान बनाउनुका साथै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा त्यसको वरिपरि साइकल ट्रयाक निर्माण गर्न जनाइएको छ ।

‘वडा नम्बर ३ को सामुदायिक वन क्षेत्रदेखि शिवपुरीधाम, जाखोर ताल हुँदै बेहडाबाबासम्म विभिन्न मठ मन्दिर जोड्दै सांस्कृतिक साइकल ट्रयाक निर्माण गरिने छ’ उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा भनिएको छ ।

धनगढी उपमहानगरपालिकाका वडा नम्बर ४, ५, ६, १३ को मानव बस्तीको बीचमा पर्ने ऐलानी, पर्ती, सार्वजनिक जग्गामा रहेको वनलाई वृहत धनगढी पार्क निर्माणका लागि अघि बढाइने उल्लेख छ ।

त्यस्तै, उपमहानगरपालिकाले सार्वजनिक नीजि साझेदारी अवधारणा अनुसार भ्यू टावर तथा घण्टाघर निर्माणलाई पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नेतुवा ताल, जाखोरतार, तिल्केताल, बेलाताल, वेहडाबाबा ताल, चौफेरी ताल, सुन्दरीताल र नथनी ताल, कथनी ताल लगायत विभिन्न वडामा रहेका तालहरूलाई पर्टकीय क्षेत्रको रुपमा विकास गर्ने नीतिलाई पनि निरन्तरता दिएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को आदर्श सामुदायक वनमा जडिवुटी खेतीको प्रारम्भ गरि सोही वनमा पिक्निक स्थल निर्माण गर्ने कार्यको थालनी गर्ने, पर्यटन प्रवद्र्धनका लागि होमस्टेको नीति प्रवद्र्धन गर्ने, भादा होमस्टेलाई थप प्रवद्र्धन गरि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक केन्द्रको रुपमा विकास गर्ने नीतिलाई निरन्तरता दिएको छ ।

उपमहानगरपालिकाले नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार क्षेत्रको विकास गर्ने भने पनि वार्षिक कार्यक्रम पुस्तिककमा अन्य ताल तथा मन्दिरहरुमा बजेट समावेश गरेको छ । नेपाल सरकार तथा प्रदेश सरकारबाट हस्तान्तरण भएका कार्यक्रममा उपमहानगरपालिको नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रम समावेश छैनन् । उपमहानगरपालिकाको वार्षिक पुस्तिका कार्यक्रममा विभिन्न वडामा रहेका मन्दिर मर्मत, पर्खाल निर्माण, व्यवस्थित ताल बनाउने भन्दै बजेट विनियोजन गरिएको उल्लेख छ ।

घोडाघोडीः प्राथमिकता घोडीघोडा ताल

विश्व रामसार सूचीमा सूचिकृत कैलालीको घोडीघोडा ताल क्षेत्रको विकासका लागि घोडाघोडी नगरपालिकाले प्राथमिकता राखेको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा भनिएको छ – ‘घोडीघोडा तालको पर्यटन लवकासका तालको सौन्दर्यकरण र पानीका फोहरा सहितको गार्डेन निर्माण गरिने छ ।’

कैलालीको घोडीघोडा धार्मिक र पर्यटकीय हिसाबले सुन्दरस्थल मानिन्छ । पुर्व पश्चिम राजमार्ग भएर कैलाली पुग्ने मध्ये घोडाघोडी नपुग्ने बिरलै हुन्छन्् । नाम मात्र सुनेका पर्यटकको पनि यसले ध्यान खिच्ने गरेको छ ।

चार मीटर औषत गहिरो रहेको घोडीघोडा तालको क्षेत्रफल १३८ हेक्टर रहेको छ । ताल आसपास रहेका अन्य १३ स–साना तालहरूसमेत गरेर घोडीघोडा सिमसार क्षेत्रका रुपमा रहेको छ । घोडीघोडामा तालैतालले ओगटेको क्षेत्रफल दुई सय ४८ हेक्टर रहेको छ । यसको कुल क्षेत्रफल दुई हजार ५६३ हेक्टर छ । ताल छेउमै धार्मिक क्षेत्र पनि जोडिएको छ । घोडीघोडा ताल र मन्दिरको अवलोकन दर्शन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेका छन्् ।

घोडीघोडा घुमघाम गर्न पर्यटकहरूलाई कुनै असुविधा हुदैन । घोडीघोडा ताल नजिक सुखड गाउँमा आधुनिक होटेलहरू सञ्चालनमा छन्् । गाउँको परिवेशमा होमस्टेमा बस्न चाहने पर्यटकका लागि माघी गाउँमा होमस्टे सञ्चालनमा छ । यो क्षेत्रमा बढी भन्दा बढी पर्यटक भित्र्याउन गुरुयोजना तयार गरेको नगरपालिकाले जनाएको छ ।

घोडीघोडामा दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित छन्् । त्यस्तै रैथाने प्रजातिका माछा, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजनन् स्थल पनि घोडीघोडा ताल बनेको छ । ताल र सिमसार क्षेत्र वरपर अति लोपोन्मुख मानिने जंगली धान समेत पाइन्छ ।

घोडीघोडामा ३१ प्रजातिका माछा, १४८ प्रजातिका चरा, ३२ प्रजातिका पुतली, ११ प्रजातिका गोही, ७ प्रजाति घस्रिने जन्तु, ४५० भन्दा बढी प्रजातिका वनस्पति छन्् । सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगन्जदेखि ३ घण्टामा घोडाघोडी पुग्न सकिन्छ ।

कैलालीका पर्यटकीय स्थल

कैलाली बढी सामुदायिक वन, ताल तलैया, विश्व रामसार सूचीमा सूचीकृत घोडीघोडा ताल, वसन्ता जैविक मार्ग, विभिन्न भेषभुषा, जातजाती, रहनसहन, संस्कार र संस्कृतिले भरिएको जिल्ला हो ।

कैलालीमा १३ वटा स्थानीय तहले ताल, पार्क तथा मन्दिरलाई पर्यटकिय गन्तव्य बनाइरहेका छन्् । जिल्लामा थारु समुदायको कलासंस्कृति, रहनसहन, परिकार पर्यटकका लागि आकर्षण रहदै आएको छ ।

जिल्लाका हरेक स्थानीय तहमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । स्थानीय तहहरूले पर्यटन विकासका लागि विविध प्रयास गरिरहेका छन्् ।

गोदावरी नगरपालिकाको गोदावरी धाम, हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निक स्थल, मछेली नदी पर्यटकीय सम्भावना क्षेत्र रहेको पर्यटक व्यवसायीहरू बताउछन् ।

गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिरलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रयास भइरहेको छ ।

त्यस्तै, घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचिमा सुचिकृत घोडीघोडा ताल रहेको छ । घोडाघोडी नगरपालिकामा सबै भन्दा बढी सामुदायिक वन, तालतलैया रहेका छन् ।

भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ । तीन वटै स्थानीय तहले डल्फिन क्षेत्र संरक्षणलाई प्रोत्साहन गरी आन्तरिक तथा बाहय पर्यटक भित्रयाउने नीति लिईने उल्लेख गरेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाले कर्णाली नदीमा ¥याफटिङलाई जोड दिएको छ । बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धामको विकासमा ध्यान केन्द्रित गरेको छ ।

त्यस्तै, कैलारी गाउँपालिकाले बनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोईलही ताल, सामरचौरा गाउमा होमस्टे संचालन र शिव मन्दिर खरेटी गाउमा पर्यटकीय संरचना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

जोशीपुर गाउँपालिकाले लभ्ली पार्क निर्माण गरेको छ भने चुरे गाउँपालिकाले गर्भा दरवार, कम्पासे धुरा, रातीपहिरो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने जनाएको छ ।