धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
पर्यटन क्षेत्रमा सुदुरपश्चिम प्रदेश सरकारको उपलब्धी

१४४  धार्मिक पर्यटकीय पदमार्ग निर्माण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गठन भएयता एक सय ४४ वटा धार्मिक पर्यटकिय पदमार्ग निर्माण गरेको छ । पर्यटन क्षेत्रमा सहज पहुँचका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नौ वटा जिल्लाका एक सय ४४ वटा धार्मिक पर्यटकिय क्षेत्रमा पदमार्ग निर्माण गरेको जनाएको हो ।

मन्त्रालयले कैलाली, डडेल्धुरामा दुई/दुई,  कञ्चनपुरमा तीन, डोटीमा ११, बैतडीमा १७, अछाममा ३८, बझाङ, बाजुरामा १८/१८ र दार्चुलामा ३५ धार्मिक पर्यटकीय स्थलमा पदमार्ग निर्माण गरेको मन्त्रालयको गतिविधी प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७८/७९ सम्म मन्त्रालयले धार्मिक पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माण, ऐतिहासिक कोट दरवारको संरक्षण, पदमार्ग निर्माण, धर्मशाला, अतिथि गृह संग्राहलय, स्वागतद्धार निर्माण लगायतमा जोड दिएको मन्त्रालयका सचिव वेदप्रकाश  ढकालले बताए ।

मन्त्रालयले चार वर्षमा सबै भन्दा बढी धार्मिक पर्यटन पुर्वाधार निर्माण गरेको छ । मन्त्रालयले चार वर्षको अवधिमा एक हजार ६३ धार्मिक पर्यटक पुर्वाधार निर्माण गरेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार कैलालीमा दुई सय तीन, कञ्चनपुरमा एक सय, डडेल्धुरामा ६४, डोटीमा एक सय ३२, बैतडीमा एक सय ११, अछाममा एक सय २९, बझाङमा ९८, बाजुरामा एक सय २१ र दार्चुलामा एक सय पाँच वटा धार्मिक पुर्वाधार निर्माण गरेको छ ।

धार्मिक पर्यटन पुर्वाधार र पदमार्गसंगै ऐतिहासिक कोट दरबारहरुको संरक्षणमा पनि मन्त्रालयले जोड दिएको छ । मन्त्रालयले चार वर्षमा एतिहासिक कोट दरवार संरक्षणका लागि १७ वटामा लगानी गरेको छ ।

डडेल्धुरा, अछाम र बझाङका चार/चार, बैतडीका तीन र डोटी तथा दार्चुलाका एक/एक कोट दरबार संरक्षणका लागि कार्यक्रम गरेको उल्लेख छ ।

यस्तै, धर्मशाला, अतिथिगृह, संग्राहलय, स्वागतद्धार  ३१ वटा निर्माण गरेको छ भने कञ्चनपुर मजगाउँ विमानस्थलका लागि आठ करोड ७५ लाख रकम हस्तान्तरण गरिएको छ ।

मन्त्रालयले पर्यटन पूर्वाधार विकास, होमस्टे प्रवद्र्धन, अपि बेसक्याम्पसम्मको पदमार्ग रिअडिटिङ, पर्यटन सहायता केन्द्र संचालन र व्यवस्थापन, सांस्कृतिक तथा पर्यटन मेला महोत्सवमा सहकार्य, टुर गाईड तथा नेचर गाईड तालिम, प्रदेशको पहिचान झल्किने मायाको चिनो डिजाईन, निर्माण तथा खरिद गर्ने, प्रदेशको भाषा कला संस्कृति रहनसहन र भुगोलमा आधारित चलचित्र निर्माण सहकार्य गर्ने लगायतका मुख्य कार्यक्रम चालु आर्थिक वर्षमा समेटेको मन्त्रलायले जनाएको छ ।

नाकामा पर्यटन सहायता कक्षा स्थापना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुर जोड्ने गौरिफण्टा नाकामा पर्यटन सहायता केन्द्र स्थापना गरेको छ ।

विश्व पर्यटन दिवसको अवसर पार्दै भारत तथा अन्य राष्ट्रबाट भित्र्ने पर्यटकलाई सहजता ल्याउन सहायता केन्द्र स्थापना गरिएको हो ।

केन्द्रको मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव वेदप्रकाश ढकालले गरे । सो केन्द्रमा मन्त्रालयको कर्मचारी राखि होटल व्यवसायी संघ, नेपाल टुर एण्ड ट्राभेल एजेन्सीले व्यवस्थापन गर्ने जनाइएको छ ।

यस्तै, दिवसकै अवसरमा धनगढीमा सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । पर्यटन इकाईका प्रमुख कालिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव ढकाल प्रमुख अतिथि रहेका थिए ।

यस वर्षको दिवसको नारा ‘पर्यटनमा पुर्नविचार’ दिइएको थियो । कोभिड महामारी, डेंगु लगायतको संक्रामक रोगहरुलाई ध्यानमा राख्दै नेपालमा पर्यटक भित्र्याउन पुर्नविचार गर्नुपर्ने भन्दै सो नारा दिइएको हो ।