धनगढी पोष्ट
बिहिबार, २७ असोज २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा बर्षनी विपद्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएको छ ।
प्रदेशका सात पहाडी जिल्लामा बाढी तथा पहिरो र तराईमा बाढी तथा डुवानसंगै चट्याङ्ग, आगलागी, वन्यजन्तु आक्रमण लगायतका घटनाबाट मानविय तथा भौतिक संरचनामा क्षति हुने गरेको छ ।
असोज २० गते रातिदेखि पाँच दिनसम्म लगातार परेको वर्षाका कारण कैलालीको भजनी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न बस्तीहरु विस्थापित भई सडक, वन र विद्यालयमा आश्रय लिएर बसेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाका विभिन्न वडाका तीन सय ७५ घरधुरी र टीकापुर नगरपालिकाका वडा नम्बर ८ अरुणाफाटा गाउँका १० घरपरिवारहरु विस्थापित भएका छन् ।
भजनी नगरपालिका वडा नम्बर २ पल्टुपुरका ४०, वडा नम्बर ३ दुसीका ७०, नयाँ बस्ती वर्दवाका १५, वडा नम्बर ८ का दुई सय ५० गरि तीन सय ७५ घरपरिवार विस्थापित भई सुरक्षित स्थानमा सारिएको छ ।
हरेक वर्षातमा भजनी नगरपालिकाका विभिन्न बस्तीहरुमा डुवान तथा बाढीको समस्या झेल्दै आए पनि दिगो व्यवस्थापनबारे अहिलेसम्म ठोस कार्यक्रम अघि बढाउन नसकेको स्थानीयहरु बताउँछन ।
भजनी नगरपालिका वडा नम्बर ८ का कम्मानसिंह बिक घरपरिवार सहित हुलाकी सडकमा बसोबास गरिरहेका थिए । उनले भने –‘हरेक वर्षामा घरभित्र पानी पस्दै आएको छ । हामीलाई कि त उच्चो ठाउँमा बस्ने व्यवस्था गर्नुपर्यो । होइन भने यो समस्या समाधानका लागि दिगो व्यवस्थापनका कार्यक्रम अघि बढाउनु परयो ।’
नेपाल रेडक्रस सोसाईटी कैलालीका अध्यक्ष उत्तम जोशी तराईमा डुबान तथा बाढी र पहाडमा पहिरो र बाढीका घटनाहरु बढिरहेको बताउँछन् । उनले मानवीय तथा प्राकृतिक कारणले पनि विपदजन्य घटना बढिरहेको बताए । उनले भने –‘पहाडमा जथाभावी सडकको नयाँ ट्रयाक खोल्ने, चुरे फेदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गराउँदा बाढी तथा पहिरोका घटना बढिरहेका छन् ।’
उनले मानविय लापरबाहीबाट भईरहेका गतिविधिहरु नियन्त्रण गर्नमा सरकारले ठोस योजना तथा कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा वैशाखदेखि असोज २५ गतेसम्म विपदजन्य विभिन्न घटनाबाट ५५ जनाको मृत्यु भएको छ । सोही अवधिमा १० जना वेपत्ता भएका छन् भने एक सय १० जना घाईते भएका छन् ।
विपदका दुई सय ४६ वटा घटनाबाट पाँच करोड ६९ लाख १५ हजार सात सयको क्षति भएको राष्ट्रिय आपत्तकालिन कार्यसञ्चालन केन्द्रमा उल्लेख छ ।
६ महिनामा प्रदेशमा सबै भन्दा बढी मानवीय क्षति अछाममा भएको छ भने कैलालीमा धेरै परिवार प्रभावित बनेका छन् । अछाममा २८ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता छ ।
राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा सात जनाको मृत्यु भएको छ भने चार करोड ८४ लाख १० हजार बराबरको अनुमानित क्षति भएको छ ।
प्रदेशमा सबैभन्दा पहिरोबाट मानविय क्षति हुने गरेको छ । सात जिल्लाका विभिन्न घटनामा २८ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । पहिरोका कारण सात लाख ८४ हजार बराबरको अनुमानित क्षति भएको छ ।
प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा प्रदेशमा १ सय १३ विपदजन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए । सो आर्थिक वर्षमा सबै भन्दा बढी मानविय घटना डोटीमा भएको थियो । डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो ।