धनगढी पोष्ट
शनिबार, २९ असोज २०७९ मा प्रकाशित
धनगढी । धनगढी उप–महानगरपालिकाले श्रोतको वर्गिकरण सहित फोहर व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ ।
कुहिने, नकुहिने, सीसा जन्य र विषदी भएका फोहोरको घर–घरबाटै व्यवस्थापन गरी त्यसलाई पुनः प्रयोगमा ल्याउने गरी उप–महानगरले फोहोर व्यवस्थापन गर्न थालेको हो ।
यसरी फोहोर व्यवस्थापन गर्दा दिगो र वातावरण मैत्री हुने मात्र नभई ल्याण्डफिल वा डम्पिङ साईटका नाममा करोडौं खर्च गर्नुपर्ने समस्याबाट पनि छुटकारा पाउन सकिने धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल बताउँछन् । त्यसको विकल्पमा धनगढी उप–महानगरपालिकाले घर–घरबाट फोहारेको श्रोत व्यवस्थापन गर्न श्रोत व्यवस्थापन प्रालि वालिङसंग सम्झौता गरेको छ ।
सो कार्यको सुरुवात शुक्रबार उप–महानगरपालिकाका नगर प्रमुख हामलले गरेका छन् । उनले कुहिने र नकुहिने फोहोरलाई अलग डस्टविनमा राखेर अभियान सुरु भएको घोषणा गरेका थिए ।
नगर प्रमुख हमालले घरबाटै फोहोरको व्यवस्थापन नभई फोहोरको दिगो व्यवस्थापन गर्न नसकिने बताए । ‘त्यसका लागि फोहोर व्यवस्थापन प्रालिसंग सम्झौता गरेका छौं,’ नगर प्रमुख हमालले भने, ‘सो संस्थाले घरबाटै कुहिने, नकुहिने, सीसा जन्य र विषदी युक्त फोहोरको बर्गिाकरण गरी संकलन गर्ने छ र ती सामानको पुनः प्रयोग गर्ने छ ।’
फोहोर संकलन गरेर एकठाउँमा फाल्नु मात्रै समस्याको समाधान नभएको नगर प्रमुख हमालले बताए । त्यसरी एक ठाउँमा फोहोर संकलन गरेर थुपार्दा दुर्गन्ध बढ्ने र रोग फैलने खतरा हुने भन्दै उनले ‘घरबाटै फोहोर वर्गिकरण गरी पुनः प्रयोग गरे गर्न सके मात्रै समस्याको दिगो व्यवस्थापन हुन्छ ।’
फोहोर संकलनका लागि धनगढीले हिलोजन्य फोहोर उठाउन र अन्य फोहोर उठाउन दुई वठा सवारी खरिद पक्रिया समेत अघि बढाई सकेको छ ।
वर्गिकरण पछि सडकमा हुने फोहार व्यवस्थापन हुने र त्यसले स्वच्छ शहर निर्माणमा सघाउन पुर्याउने उनले बताए । ‘काठमाण्डौंमा अहिले फोहोर व्यवस्थापन ठुलो चुनौति बनेको छ,’ नगर प्रमुख हमालले भने, ‘यदी धनगढीमा अहिलेनै व्यवस्थापन गर्न सकेनौं भने, भविश्यमा यहाँ पनि काठमाण्डौंको जस्तै हालत हुन सक्छ, त्यस प्रति हामी सचेत बनेका छौं ।’
फोहोर व्यवस्थापनका लागि धनगढीका १४ स्थानमा कुहिने र न कुहिने सामाग्री राख्न डस्टविन राखिने उनले बताए ।
फोहोर संगै प्रयावरण स्वच्छतामा पनि उप–महानगरले काम गर्ने उनले बताए । त्यसका लागि सरसफाई अभियानता केपि खनाललाई धनगढीमा ल्याइने छ । केपि खनालले स्कुलमा क्लव गठन गरी विद्यार्थीलाई सरसफाई गर्न अभिप्ररित गर्ने खालका सन्देश प्रवाह गर्ने छन् ।
‘दिगो फोहोर व्यवस्थापन, सभ्यताको पहिचान’ भन्ने नारा सहित सुरु भएको फोहोर वयवस्थापन कार्यक्रम पहिलो चरणमा धनगढी–१ बाट सुरु हुने श्रोत व्यवस्थापन प्रालिका व्यवस्थापक कृष्ण भण्डारीले बताए ।
उनका अनुसार पहिलो चरणका लागि वडा नम्बर १ देखि ८ नम्बर वडा र १३ नम्बर वडालाई छनौट गरिएको भएपनि वडा नमबर–१ बाट कार्यक्रम सञ्चालन गरिने छ ।
पहिलो चरणमा वडा सरसफाई समिति गठन गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । दोश्रो चरणमा वडामा सञ्चालन गरिएका समिति र टोल विकास समिति संग अभिमुखिकरण गरिने, तेश्रो चरणमा फोहोरको क्षमता विकासका लागि व्यवहारिक छलफल गरिने छ । चौथो चरणमा फोहोर संकलकलाई फोहोर वर्गिकरण सम्बनधी तालिम प्रदान गरिने र त्यस पश्चात फोहोर संकलन कार्यको सुरुवात गरिने छ ।
संकलन गरिएको फोहार मध्य कुहिने सामाग्रीलाई मलका रुपमा प्रयोग गरिने, कागजलाई प्रशोधन केन्द्रमा पठाइने र प्लास्टिक, सीसा तथा बोतललाई पुनः प्रयोगका लागि विक्रि गरिने छ ।
त्यसरी फोहोरको व्यवस्थापन गर्दा घरबाट उत्पादन हुने सवै किसिमको फोहोर व्यवस्थापन हुने र वातावरणमा समेत कुनै प्रभाव नपार्ने उनले बताए ।
‘फोहोरको श्रोत वर्गिकरण गरी व्यवस्थापन गर्दा त्यसले आम्दानी पनि बढ्छ,’ उनले भने, ‘केही मान्छेले रोजगारी पनि पाउने छन्, मुख्य कुरा प्लास्टिक तथा सीसाले वातावरणमा पार्ने असर पनि कम हुन जान्छ ।’
फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट वा ल्याण्डफिल साइड निर्माण गर्दा राजयको अरबौं खर्च हुने भएपनि श्रोतको वर्गिकरण सहित फोहोर वयवस्थापन कार्य गर्दा राज्यलाई आम्दानी हुने उनको दावि छ ।
ल्याण्डफिल साईड निर्माण गर्दा र निर्माण गरिसकेपछि त्यसको व्यवस्थापनमा पनि राज्यले लगानी गरिरहनुपर्ने हुन्छ,’ भण्डारीले भने, ‘तर हामीले फोहोर व्यवस्थापन गर्दा विक्रि गरेका सामाग्रीबाट राज्यलाई कर तिर्नेछौं, नेपाली नागरिकलाई रोजगारी पनि दिने छौं ।’
ल्याण्डफिल साईट वा डम्पिङ साइट केही समय पनि भरिने सम्भावना भएपनि बर्गिाकरण सहित फोहोर प्रशोधन गरेर पुनः प्रयोग गर्दा त्यो समस्या समेत नहुने उनले बताए ।
फोहोर प्रशोधनका लागि धनगढी–३ गौसालामा तीन कट्ठा जग्गा छुट्याइएको छ ।