धनगढी पोष्ट
मङ्गलबार, ०१ कार्तिक २०७९ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट कार्य गरे वापत सुदूरपश्चिम प्रदेशमा कार्यरत तीन जना प्रहरी निरीक्षकलाई सम्मान गरिएको छ ।
प्रहरी प्रशिक्षण स्थल बुडर डोटीका प्रमुख रणबहादुर चन्द, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिलबहादुर सिंह र विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक नरपती भट्टलाई सम्मान गरिएको हो ।
६७ औँ प्रहरी दिवसको अवसरमा धनगढीमा आयोजना गरिएको कार्यक्रममा प्रहरी निरीक्षक चन्दलाई नगद र प्रशंसा पत्रसहित तथा सिंह र भट्टलाई नगदसहित सम्मान गरिएको हो ।
उनीहरुलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रणबहादुर रावलले सम्मान गरेका हुन् ।
उता, जिल्ला प्रहरी कार्यालय दार्चुलाले दिवसको अवसरमा विभिन्न व्यक्ति, प्रहरी कर्मचारी र सहिद परिवारलाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक राजेश शाहीसहित तीन जना प्रहरी कर्मचारी सम्मानित भएको प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।
सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक राजेश शाही, सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरका प्रहरी सहायक निरीक्षक दान बहादुर साउँद र प्रहरी जवान रोहित कुमार रोकाया रहेका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले उनीहरुलाई प्रमाणपत्रसहित सम्मानित गरेका हुन् ।
यस्तै कर्तव्य पालनका सिलसिलामा अमरत्व प्राप्त गर्ने १४ सहिद परिवारलाई सम्मान गरिएको छ । नेपाल प्रहरीमा कर्तव्यको सिलसिलामा निधन भएका अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गरि परिवारलाई कदर पत्र दिएर सम्मान गरिएको प्रहरी प्रमुख पाण्डेयले बताए । साथै ९० वर्षीय भुतपूर्व प्रहरी जवान दिलानन्द बडूलाईसमेत सम्मान गरिएको छ ।