धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

चौमाला बजारका ६ पसलमा आगलागी, एक करोड बढीको क्षति

धनगढी । गौरीगंगा नगरपालिका–१ चौमाला बजारका ६ पसलमा आगलागी भएको छ। शनिबार साँझ ७ बजेर २० मिनेटमा विद्युत्‌को तारा सर्ट भएर हिमाल मोबाइल ग्यालरीमा लागेको आगोले ६ वटा पसललाई चपेटामा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

स्थानीय, प्रहरी र म्यादी प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि आगो लागेका चार वटा पसलमा पूर्ण रुपमा क्षति भएको छ। आगो नियन्त्रणका लागि दमकल बोलाए पनि ढिलो पुगेका कारण क्षति भएको बताइएको छ। करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। 

आगलागीबाट हिमाल मोबाइल ग्यालरीका साथै लुम्बिनी होटेल, बहराय मोबाइल ग्यालरी र भण्डारी किराना पसर जलेर नष्ट भएको इप्रका चौमालाले जनाएको छ। पशुपती डम्मरा सप्लायर्स र आचार्य शु सेन्टरमा आंशिक क्षति भएको बताइएको छ। 

कैलाली प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीका अनुसार गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमाला बस्ने विष्णुकुमार पाण्डेको लुम्बिनी होटलमा भाडा, लत्ता कपडा होटलका समान लगायत अन्दाजी एक लाख पचास हजार, जय सिंह भण्डारीको किराना पसलको सामान, दुई वटा फ्रिज लगायत १५ लाख, पारस सापकोटाको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक समान लगायत १० लाख, हिमाल पुन मगरको मोबाईल ग्यालरीको ईलेक्ट्रोनिक समानलगायत १२ लाख,  छविलाल खनालको हार्डवेयर पसलमा ४५ लाख र टंकप्रसाद आचार्यको सुज सेन्टरको जुत्ता, चप्पल लगायतक ३० लाख बराबरको क्षति भएको छ।